९ वर्षमै युनिभर्सिटीको पढाइ ।

एजेन्सी । बेल्जियममा एक बालकले ९ वर्षको उमेरमै स्नातक डिग्री हासिल गर्ने कोर्स सुरु गरेका छन् । लरेन्ट साइमोन्स नामक ती बालक हाल एइन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजी, टीयुइमा इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेका छन् । सो विषय ग्राजुएट गर्ने उमेर भएका साधारण विद्यार्थीका लागि समेत कठिन साबित हुने गरेको छ तर लरेन्टलाई भने युनिभर्सिटीका सबै स्टाफले असाधारण प्रतिभायुक्त बालक र अत्यन्तै बृद्धिमानी भनि व्याख्या गरेका छन् ।
उनका पिताले संचार माध्यम सीएनएनसँग बताएअनुसार इलेक्ट्रिकल इन्जिनियरिङपछि लोरेन्ट त्यही विषयमा पिएचडी हासिल गरि चिकित्सा सम्बन्धी पनि डिग्री प्राप्त गर्न चाहन्छन् । लरेन्टका हजुरबुवा र हजुरआमाले बारम्बार उनको असाधारण बौद्धिक क्षमताका बारेमा बताउने गरेपनि आफूहरु त्यसप्रति पहिले कहिल्यै गम्भीर नरहेको उनका आमाबाबु लिडिया र एलेक्जेन्डर साइमनले बताएका हुन् । यस्तोमा लरेन्टका शिक्षकहरुले उनको यस प्राकृतिक उपहारका बारेमा बताएपछि मात्र वास्तविकता स्वीकार गरेको बताए । उनकी आमा भन्छिन्, “सबै शिक्षकहरुले लरेन्टमा एक विशेष किसिमको क्षमता देखेको बताए । ”
त्यसपछि नै स्कुलका शिक्षकहरुले लरेन्टको क्षमता कहाँसम्म सिमित छ भनेर जाँच गर्न अनगिन्ती परीक्षा लिएका हुन् । पिता एलेक्जेन्डर भन्छन्, “उनीहरुका अनुसार लरेन्ट ‘स्पन्ज’ जस्तै छन् र उनको दिमागले जस्तोसुकै कुरा पनि तुरुन्तै टिप्न सक्छ ।” वास्तवमा लरेन्ट डाक्टरहरुको परिवारबाट आउँदछन् । तर उनीहरुलाई अझैपनि आफ्नो छोराले कसरी त्यति छिटो पढ्न सकेको भन्नेबारे कतैबाट स्पष्टिकरण प्राप्त नभएको बताए । यसबारेमा लिडियाले हाँस्दै ठट्टा गर्दै भनेकी हुन्, “मेले गर्भावस्थामा धेरै माछा खाएकी थिएँ । कतै त्यहि भएर त होइन ? ”
यसरी टीयुइले पनि लरेन्टलाई अरु विद्यार्थी भन्दा छिटै कोर्स लिन अनुमति दिइसकेको छ । टीयुइ स्नातक डिग्रीमा इलेक्ट्रिकल इन्जिनियरिङका शैक्षिक अध्यक्ष स्जोएर्ड हल्सोफले भने, “यो कुनैपनि हालतमा सामान्य होइन । तर विशिष्ट विद्यार्थीहरुले उपयुक्त कारण भएमा तालिका व्यवस्थित गरि छोटो समयमै पढाइ पूरा गर्न सक्छन् । ” यसका साथै उनले लरेन्टलाई सो युनिभर्सिटीमा अध्यरत हालसम्मकै तेज छात्र भनि प्रशंसा समेत गरेका हुन् । तर बुद्धिमानी मात्र नभएर उनी भावनात्मक पनि रहेको उनको भनाइ छ ।
यसरी उनीबारे चर्चा सुरु भएसँगै लरेन्टलाई भर्ना लिन विश्वभरका प्रतिस्ठित युनिभर्सिटीहरु सम्पर्क गर्न आइरहेका छन् जसमध्येबाटै उनले पिएचडी गर्ने बताइएको छ । उनका पिता भन्छन्, “लरेन्टले बिना कुनै समस्या जेसुकै जानकारी पनि सहजै याद गर्न सक्छन् । यस्तोमा हामी उनको यो शीपलाई नयाँ आविस्कार गर्न र रिसर्च गर्नमा केन्द्रित गराउन चाहन्छौँ । ”
तर कम उमेरमै यति ठू्रलो उपलब्धी हासिल गरेपनि उनको बाल्यकाल भने साधारण रुपमै बितोस् भन्ने सुनिश्चित गर्न उनका आमाबाबुले विशेष सतर्कता अपनाइरहेको पनि बताए । एलेक्जेन्डर भन्छन्, “हामी ऊ यसबारेमा धेरै गम्भीर नहोस् भन्ने चाहान्छौँ । किनकी उसले आफ्नो ट्यालेन्टका साथै बालक भएको पनि आभास गर्नुपर्छ ।” पढाइ बाहेक लरेन्टलाई आफ्नो घरपालुवा कुकुरसँग खेल्न र अन्य युवाहरु जस्तै मोबाइल चलाउन मनपर्छ । उनको जीवनको लक्ष्य चाहिँ कृत्रिम अङ्ग निर्माण गर्नुरहेको उनले बताएका हुन् । – सिएनएन
प्रकाशित मिति: ४ मंसिर २०७६, बुधवार ०३:३० बजे