प्रदेशसभामा राजधानीको प्रस्ताव पेश गरिने

हेटौँडा । प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा आज पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन् ।
पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले बताए । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उनले जानकारी दिए।
राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए ।
निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए ।
प्रकाशित मिति: २० पुस २०७६, आइतवार २१:२५ बजे