तेलको भाउ ८० डलर आउन सक्ने ।

न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ८० डलरमा आउन सक्ने बताइएको छ । अमेरिकी हवाई हमलामा परेर बिहिवार राति इरानी सैन्य अधिकृतको मृत्यु भएपछि विशलेषकहरुले यस्तो बताएका हुन् ।
मध्य पूर्वमा भूराजनीतिक तनाव बढ्यो भने त्यहाँको कच्चा तेल आपूर्तिमा अवरोध हुने र यसले तेलको भाउलाई टेवा दिने राजनीतिक जोखिम सम्बन्धी परामर्श दिने कम्पनी यूराशिया ग्रूपमा विश्लेषकहरुले शुक्रवार सार्वजनिक एक अनुसन्धान नोटमा भनेका छन् ।
कम्तिमा पनि एक महीनासम्म अमेरिका र इरानबीच मध्यम देखि न्यून स्तरको भिडन्त हुने विश्लेषकहरुको भनाइ छ ।
तेलको भाउ ७० डलर आसापास रहने सम्भावना भएपनि द्वन्द्व बढेर दक्षिणी इराक वा इरानी व्यावसायीक तेल आपूर्तिसम्म पुग्यो भने चाँहि भाउ बढेर ८० डलरमा पुग्न सक्ने नोटमा उल्लेख छ ।
शुक्रवार बजार बन्द हुँदा भने कच्चा तेलको भाउ ३ प्रतिशत भन्दा धेरैले बढेका थिए । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभजिनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ प्रतिब्यारेल ३ दशमलव शून्य ७ प्रतिशतले बढेर ६३ डलर शून्य २ सेन्टमा पुगेको थियो ।
लन्डन स्थिति आईसीआई एक्सचेञ्जको कोमेक्स डिभिजनमा अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि ३ दशमलव ५२ प्रतिशतले बढेर ६९ डलर ५२ सेन्टमा पुगेको थियो । एजेन्सी
प्रकाशित मिति: २० पुस २०७६, आइतवार २१:३१ बजे