कानून गलत छ भनेर नारा जुलुस गरिरहनु पर्दैन : सभामुख श्रेष्ठ
हेटौँडा । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले वर्तमान राज्य व्यवस्थामा कानून वा विधेयकहरु गलत छ भनेर नारा जुलुस गरिरहनु नपर्ने बताएका छन् ।
प्रदेश मामिला समिति तथा नेपाल कानून समाजको संयुक्त आयोजनामा नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे आज हेटौँडामा भएको ‘संवाद कार्यक्रम’ मा उनले भने, “सरकारले ल्याएका वा ल्याउन लागेका कानूनहरु नारा जुलुस वा आन्दोलन गरेरभन्दा पनि छलफल र संवादमार्फत परिमार्जन वा संशोधन गरिनुपर्दछ ।”
सभामुख श्रेष्ठले सांसदले भौतिक विकासका काममा दौडने तर नीति निर्माणका कुरामा खासै ध्यान नदिने परम्परा रहेको उल्लेख गर्दै वास्तवमा सांसदहरुको काम नीति नियमहरु राम्रो बनाएर देशलाई विकसित बनाउने आधार निर्माण गर्नुपर्ने बताए ।
नेपालले पछिल्लो समय आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै उनले भारतको अर्थतन्त्र ऋणात्मक हुँदासमेत नेपालमा सुधार हुनु सकारात्मक रहेको र यस्ता सकारात्मक कुराहरुलाई नेपाली सञ्चारमाध्यमले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
डा खिमलाल देवकोटाले देशमा राजतन्त्रका बखत पत्रकारितामाथि सबैभन्दा धेरै आक्रमण भएको कारण त्यस्ता खतरा नदोहोरियोस् भन्नका लागि संविधानमै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको बताए ।
प्रकाशित मिति: २१ पुस २०७६, सोमवार २१:५७ बजे