२८ कात्तिक २०८१, बुधवार

गुठी परम्पराको संरक्षण सरकारले गर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फीरुपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताएकी छन् ।
मन्त्रालयले आज आयोजना गरेको गुठी विधेयकसम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयकविरुद्धको सङ्घर्ष समितिसँग अन्तक्र्रिया कार्यक्रममा उनले गुठीको धर्म, संस्कृति, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताइन् ।
मन्त्री अर्यालले गुठीलाई राम्रो बनाउन मन्त्रालयले सरोकारवालाबीचमा छलफल गरेको जानकारी गराइन् । देशभर विभिन्न प्रकृतिका गुठी रहेकाले तिनका समस्या पनि फरकफरक रहेका उनले बताइन् । गुठीको मर्म, भावनालाई संरक्षण गर्न मन्त्रालयले अहिले पवित्र भावनाका साथ गुठीसम्बन्धी कानून राम्रो बनाउन लागेको उनको भनाइ छ ।
धर्म, संस्कृति, प्रथा, परम्परासम्बन्धी गुठी, जग्गासम्बन्धी गुठीको व्यवस्थापन कसरी गर्ने तथा अतिक्रमणमा परेका जग्गाको संरक्षण कसरी गर्ने भन्ने कुरा फरकफरक ढङ्गले हेरिनुपर्ने उनले बताइन् ।
मन्त्री अर्यालले उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भएका खबर आएकाले त्यसको छानबिन भइरहेको जानकारी गराइन् । उपत्यकाका गुठीको संरक्षणसँगै अतिक्रमण भएका जग्गाको संरक्षण कसरी गर्ने भन्नेतर्फ पनि ध्यान दिन उनले आग्रह गरिन् ।

देशभर १३९ विघा गुठीको जमिन अतिक्रमण भएको उनको भनाइ छ । उनले भनिन्, “मन्त्रालय त्यसको संरक्षणको अभियानमा लागेको छ ।”

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँ उपत्यकाका नेवार समुदायसँग जोडिएको प्रथा, परम्परा, संस्कृतिसँग जोडिएको गुठी संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

संस्कृतिसँग जोडिएको गुठी र जग्गाको विशेषतालाई फरकफरक ढङ्गले सम्बोधन गरिनुपर्ने उनको भनाइ छ । उनले भने, “नेवार समुदायको परम्परागत संस्कृति र जग्गाको प्रकृति फरक छ ।”

गुठी विधेयकविरुद्धको संयुक्त सङ्घर्ष समितिका संयोजक डा महेशमान शाक्यले नेपालमण्डल र वरिपरिका आदिवासी नेवारको प्रचलित प्रथाजन्य संस्था गुठीलाई स्वायत्तता दिनुपर्ने बताए ।

ज्यापु महागुठी नेपालका अध्यक्ष राजभाई जकमीले उपत्यकाको गुठीको छुट्टै भावना रहेको बताए ।

राष्ट्रिय पहिचान सङ्घर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले गुठीसम्बन्धी कानून बनाउन सहयोग गरिने तर जसका निम्ति कानून बनाउन लागेको हो ती समुदायको मर्म समेटिनुपर्ने बताए ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमवार २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु