धुलिखेल नगरको १२ वटा विद्यालयलाई नमुना बनाईने ।
धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित पात्लेखेतमा रहेको कालीदेवी माध्यमिक विद्यालयको ४३ औ बार्षिकोत्सव समारोह,तथा नव निर्मित भवनको हस्तान्तरण, पुर्व प्रधानाध्यापकको विदाई तथा सम्मान, २०७१ देखि २०७५ सम्म एसइई परीक्षामा उर्तिण विद्यार्थीहरुको सम्मान र विदाई कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरलाई बालमैत्री, शैक्षिक, स्वस्थ र पर्यटकिय नगरी बनाउने उदेश्यले कार्य भईरहेको बताउनु भयो । ‘विद्यालय प्रवेश गर्न नसकेका बालबालिकाहरुलाई विद्यालय हाता भित्र ल्याउनु जरुरी छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘शिक्षक बीचको एकता, अभिभावकहरुको दायित्व र परिणामुखी विद्यार्थीहरुको जीवनका लागि विद्यालयको वातावरण निर्माण गरिनु पर्छ ।’
शिक्षकहरुको मुल्यांकन गर्ने विधी बनेको बताउँदै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले पहिलो चरणमा वडाका १२ वटा विद्यालयलाई नमुना बनाईने बताउनु भयो । शिक्षक दरवन्दी मिलान सम्पन्न गरी शैक्षिक क्षेत्रका तमाम समस्या समाधानका लागि नगरपालिकाले कार्य गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले सिप सहितको आत्मनिर्भर हुने प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो ।
धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित पात्लेखेतमा रहेको कालीदेवी माध्यमिक विद्यालयमा २०७६ भाद्र २ गते अनिवार्य अवकाश प्राप्त गरेका पुर्व प्रधानाध्यापक गंगाप्रसाद सत्यालले १ लाख रुपैया अक्षयकोषका लागि हस्तान्तरण गर्नु भयो भने पुर्व शिक्षक भवानी शंकर तिमल्सिनाले कोषका लागि ५० हजार प्रदान गर्नु भएको थियो । पुर्व शिक्षकहरुले अक्षय कोषमा रकम प्रदान गरेसँगै स्थानीय समाजसेवी पात्लेगाउँ अर्गानिक फर्मका गोविन्द घिमीरेले पनि ५० हजार उपलब्ध गराउनु भयो । ‘कोषमा २ लाख रुपैया जम्मा भएको छ । अक्षयकोषमा जम्मा भएको उक्त रकमबाट विद्यालयमा अध्ययन गर्ने जेहेन्दार छात्रछात्राहरुका लागि छात्रबृत्ति उपलब्ध गराईनेछ’–विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपानेले बताउनु भयो–‘विद्यालयलाई नगरकै नमुना बनाउने अभियान स्वरुप पुर्व शिक्षक, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सक्रिय सहभागिता छ ।’ विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुको शैक्षिक स्तर बृद्धीका लागि अक्षयकोष स्थापना भएको छ ।
कार्यक्रममा विद्यालयले पुर्व प्रधानाध्यापक गंगाप्रसाद सत्याललाई सम्मान गरेको थियो भने सत्यालले शिक्षकद्धय दामोदर न्यौपाने र सुरेशराज पाठक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपाने र पुर्व गाविस अध्यक्ष केशव वडाललाई सम्मान गर्नु भएको थियो । शिक्षक, विद्यार्थीले संयुक्त रुपमा नेपालको सिमा नमिच्न खवरदारी गर्दै सरोकारवालाहरुलाई चेतावनी दिएका थिए । साथै कालीदेवी माध्यमिक विद्यालयको ६८ लाखमा निर्माण सम्पन्न भएको ४ कोठे पक्कि भवनको नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो ।
४ महिनामा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको उक्त भवन जिल्लामै छोेटोे समयमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख द्धारिका पोखरेलले बताउनु भयो । भवन निर्माणसँगै शिक्षालाई सिप र गुणस्तरमा जोड्न पोखरेलले अनुरोध गर्नु भयो । विद्यालयमा २ सय १० जना विद्यार्थी भर्ना भएकोमा १ सय ७१ नियमित छन् । १२ जना शिक्षक नीजि, राहतबाट कार्यरत रहेको प्रधानाध्यापक उद्धवप्रसाद तिमल्सिनाले बताउनु भयो । ‘शिक्षक अभावका कारण शैक्षिक गुणस्तर कायम गर्न चुनौती थपिएको छ’–उहाँले भन्नुभयो–‘अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्ययनका लागि कालीदेवी जाउँ भन्ने अभियानले वडा भित्रकै नमुना मावीलाई नगर र जिल्लाकै नमुना बनाउने अभियानमा छौं ।’
वडा अध्यक्ष विष्णु धितालले नगरले समग्र विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने गरी कार्ययोजना अनुसार कार्य गरिरहेको बताउनु भयो । नमोबुद्ध नगरपालिका वडा नम्वर २ का अध्यक्ष संञ्जिव ढकाल, पुर्व प्रधानाध्यापक गंगाप्रसाद सत्याल, पुर्व विद्यार्थी श्रीदास तामाङ लगायतले सामुदायिक विद्यालयहरुले गुणस्तर सुधार गर्न चाहे सम्भव भएको बताउनु भएको थियो । विद्यालयमा भर्ना भएका बालबालिकाहरु नियमित आउन नसक्नुको कारण अभिभावक र विद्यालयले खोजी गरी नियमित गराउन पहल गर्नु पर्ने सहभागिहरुले बताएका थिए ।
प्रकाशित मिति: २२ पुस २०७६, मंगलवार २२:३३ बजे