५ माघ २०८१, शनिवार

अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

काठमाडौं । सरकारले अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को मंगलवार शुभारम्भ गरेको छ । तर, नेपाललाई अन्तरराष्ट्रिय रूपमा प्रवर्द्धन गर्नुपर्नेमा कार्यक्रम गर्ने समय र शैलीका कारण भने सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

अस्ट्रेलियामा ३ महीनादेखि लागेको डँढेलाले ठूलो मानवीय, जैविक तथा आर्थिक क्षति बेहोरेको अवस्थामा नेपालले गरेको प्रवद्र्धनात्मक कार्यक्रमले मुलुककै बेइज्जत भएको टिप्पणी गरिएको छ ।

मंगलवार संयुक्त रूपमा सिड्नीको सर्कुलर कीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओ डीले भ्रमण वर्षको प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डँढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको उनले बताए ।

उनले यहाँ भएका आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरूलाई सहयोगमा जुट्न आग्रह पनि गरे । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरू सांस्कृतिक पहिरनसहित सर्कुलर कीमा आइपुगेका थिए । तर, कार्यक्रम लगत्तै ब्यानर सहित ओपेरा हाउसतर्फ जान लाग्दा त्यहाँका सुरक्षाकर्मीले रोकेपछि कार्यक्रमको व्यवस्थापनको विषयमा आलोचना भएको हो ।

औपचारिक कार्यक्रम समापन भएपछि मन्त्री भट्टराईसहित सहभागीहरूले नजीकै रहेको ओपेरा हाउसको भ्रमण गरेका थिए । नेपाल र अस्ट्रेलियाको झन्डासमेत बोकेका करीब २०० मानिस ओपेरा हाउस नजीकै पुग्दा त्यहाँका सुरक्षागार्डहरूले केही बेर रोकेर सोधपुछ गरेका थिए ।

सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि पर्यटनमन्त्री भट्टराईले फेसबुकमार्फत प्रदर्शन जस्तो देखिएकाले सुरक्षाकर्मीले चासो राखेको तर प्रचारमा आए जस्तो कार्यक्रम रोक्न आदेश नदिएको प्रष्टीकरण दिएका छन् । उनले काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको भन्दै प्रश्न समेत गरेका छन् ।

देश शोकमा डुबेको समयमा मन्त्रीलाई आमन्त्रण गरी कार्यक्रम गर्न सुझाउने अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको पनि व्यापक आलोचना गरिएको छ । दाहाल लामो समय कांग्रेस निकट रहेर विभिन्न सरकारी लाभ लिएका तर पछि राजदूत पदका लागि कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको बताइन्छ । राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहालका भतिजा हुन् ।आजको आर्थिक अभियानमा खबर छ ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधवार ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु