धुलिखेल नगरपालिका हेल्दी सिटी बन्दै ।

धुलिखेल । धुलिखेल नगरपालिकाले ‘हेल्दी सिटी’को अवधारणाअघि सारेको छ। नगर कार्यपालिकाको २०७६ श्रावण १२ गतेको निर्णयअनुसार सुचारू गरिएको उक्त अवधारणामा धुलिखेल अस्पतालको समन्वय तथा कर्ड नेपाललगायतका संस्थाहरूको सहयोग रहेको छ।
अवधारणाअनुसार नगरपालिकाले नगरको स्वास्थ्य प्रोफाइल तयार गर्न लागेको छ। धुलिखेल अस्पतालको सहयोगमा वडा नं. ६ बाट प्रोफाइलको काम सुरु गरिएको छ भने विभिन्न ७ वटा वडामा मधुमेहसम्बन्धी शिविर सञ्चालन गरी रोगविरुद्ध जनचेतना तथा परीक्षण सेवा सुरु गरिएको छ।
प्रदेश-३ को कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालय काभ्रेको सहयोगमा वडा- ३ र ५ मा महिलाहरुको पाठेघर जाँचसम्बन्धी शिविर सञ्चालन गरिएको छ। अवधारणाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा हरेक मंगलबार र शुक्रबार मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको नगरका स्वास्थ्य अधिकृत शरद चन्द्र थापाले बताए।
अवधारणा अनुरूप नियमित संस्थाकाे अनुगमन तथा मूल्यांकन गरिएको छ भने नर्सिङ स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरी सबै स्वास्थ्य संस्थामा महिलाको पाठेघर परिक्षण गर्ने कार्यक्रम रहेको छ।
शीर मेमोरियल अस्पतालको सहयोगमा मातृ तथा नवशिशु स्याहार तालिम प्रदान र स्वाथ्यकर्मीको क्षमता अभिवअभिवृद्धि गरी मातृ स्वास्थ्य तथा नवशिशु स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न थालिएको छ।
वडा-७ मा फोहर संकलन गरी स्वास्थ सहर निर्माणको थालनी गरिएको छ भने वडा- ८ मा घरदैलो स्वास्थ्य सेवा मार्फत् अशक्त, गर्भवती र जेष्ठ नागरिकहरूलाई सेवा प्रदान गरिएको छ। वडा-१० मा मासिक क्लिनिक सेवा सुचारु गरिनुका साथै सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सरोकारवालाहरूको बौद्धिक बहस पश्चात् यो अवधारणालाई अघि सारेको नगर स्वास्थ्य अधिकृत सन्दीप केसीले बताए। उनले भने, ‘स्थानीय समस्यालाई स्थानीय तवरबाटै समाधान गर्दै विश्वमा आएका नयाँ खोजमा आधारित रहेर स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले रणनीतिका साथ लागिरहेको छ।’
नगर स्वास्थ्य अधिकृत केसीका अनुसार समन्वय तथा सहकार्यमार्फत् नै गत आर्थिक वर्षमा समेत धुलिखेलमा ३७ वटा स्वास्थ्य शिविरहरू सम्पन्न गरिएको थियो। नगरका विभिन्न वडामा रहेका एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी तथा ३ वटा नगर स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क औषधि वितरण हुँदै आएको थियो।
प्रकाशित मिति: ३ माघ २०७६, शुक्रवार १७:३४ बजे