३ फागुन २०८१, शनिवार

विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

कास्की – केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताउनुभयाे ।

स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल हुनुभएकाे थियाे ।

बाग्लुङ धुल्लुवासकोट-६ का खगेन्द्र थापामगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा छ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।

यसअघि २०७४ कार्तिक ३० गते खगेन्द्र थापामगरकै अनुहार र कदकाठी भएका हास्य कलाकार दिपेन शाहकाे १९ वर्षकाे उमेरमा निधन भएकाे थियाे भने विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड्समा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको २०७२ साल भदाैमा अमेरिका भ्रमणका क्रममा अमेरिकामै निधन भएको थियाे ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रवार २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु