बाबुराम र अशोकलाई प्रचण्डको आग्रह ,नेकपामा आउनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरिह भएर बस्नभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन् ।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरोस्थितिमा निरिह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन आग्रह गरे ।
उनले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफुहरुसँगै मिल्न आउन आग्रह गरे । उनले भने, ‘रामचन्द्रजीले भनेको जस्तै त्यहाँ रहेका साथीहरु आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरिह भएर बस्न परेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँले भन्नुभयो यदि उहाँले भनेको सत्य नै होला मलाई सबै थाहा त छैन ती साथीहरु र उपेन्द्र जी पनि अब धेरै झमेला गर्नुभन्दा यही मिल्नै आए बरु राम्रो हुन्छ भनेर उहाँहरुलाई पनि त्यो भन्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अव अलग अलग चुलो चौका लगाएर नहुने समेत बताए ।
अध्यक्ष प्रचण्डले विगत केही महिना यता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहेपनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आउनुभएको छ ।
प्रकाशित मिति: ८ माघ २०७६, बुधवार २१:३३ बजे