१ जेठ २०८२, मंगलवार

कपुरधारामा छैन खानेपानीको धारा

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौँ महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ ।

खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गरे ।

खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने गरेकाले परिवेश मिनरल वाटर कम्पनीबाट लिन बाध्य हुनुपरेको स्थानीयवासीको दुःखेसो छ ।

स्थानीयवासी मासिक रु एक हजार तिरेर कम्पनीबाट पानी लिन बाध्य छन् । खानेपानी समस्या समाधानका लागि पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीका पालादेखि नै अनुरोध गर्दै आए पनि समाधान हुन नसकेको शाहीले बताए ।
विभाग रहेको पानीपोखरीबाट नजिकै रहे पनि यहाँको १६० घरमा खानेपानीको धारा नभएको वडाध्यक्ष ख्यामराज तिवारीले स्वीकारे ।

समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सबै घरमा धारा जडान गर्ने गरी बोलपत्र आह्वान गरेकाले केही समयमै समस्या समाधान हुने उनले बताए ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रवार १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु