छाउगोठ भत्काउन सक्रिय हुदै महिला

अछाम । २० वर्षदेखि उनी महिला, बालकालिका र वृद्धवृद्धाका सुखदुःखसँग घुलमिल हुँदै आएकी छन् । मंगलसैन नगरपालिका–५ की स्वास्थ्य स्वयंसेविका मथुरा ढुंगानाले यो अवधिमा धेरैको ज्यान जोगाइन् । कुरिती, कुसंस्कार र कुप्रथाका विरुद्धमा आवाज उठाइरहेकी छन् ।
छाउगोठमा महिलाहरूलाई राख्न अन्त्य गर्नुपर्छ । रजस्वला हुँदा सुरक्षित घरमा बस्नुपर्छ भनेर उनले स्थानीयलाई सम्झाउँदै आएकी छन् । गाउँमा आमा समूहको बैठकमा पनि उनको मुख्य एजेण्डा छाउपडी कुप्रथा कसरी अन्त्य गर्ने भन्ने नै रहन्छ । यहाँका सबै स्थानीयलाई बुझाउन नसके पनि उनले यो अभियानलाई कहिल्यै छोडिनन् । ‘छाउगोठमा बस्दा महिलाको स्वास्थ्यमा मात्र होइन, आमासँग बस्ने बालबालिकालाई झन् धेरै असर पर्छ,’ उनले भनिन्, ‘आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउनलाई त यस्ता कुसंस्कार हट्नैपर्छ । यो हटाउनु हाम्रो दायित्व हो ।’ गाउँगाउँमा आमा समूह गठन गर्ने, बचत गर्ने बानीको विकास गर्ने, महिलालाई स्वस्थ बनाउने र आर्थिकरुपमा सक्षम बनाउन उनी जस्ता धेरै स्वयंसेविकाको भूमिका रहेको उनी बताउँछिन् ।
‘टोलटोलमा स्वयंसेविकाहरू छौं । हामीले मात्रै महिनावारी भएको बेला सुरक्षित बस्न थाल्यौं भने अरु दिदीबहिनी पनि सिको गर्छन्,’ उनले भनिन्, ‘हामीले पाएका विभिन्न तालिमहरूमा पनि पहिले आफ्ना आनिबानी सुधार्न भनिएको छ । सुरुआत आफैंबाट गर्यौं र अरुलाई पनि सिकाउँदै छौं ।’ उनका अनुसार छाउगोठ भत्काइसकेपछि व्यवस्थित भई कसरी बस्ने र पुनः गोठ निर्माण नगर्न सबैलाई सचेत पार्न अभियान थालिएको छ ।
मंगलसैन–५ कि मंगला विक २६ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा आफ्नो टोलमा बिरामीको सेवा गरिरहेकी छन् । स्वास्थ्यसम्बन्धी कठिनाइ हुँदा सबैभन्दा पहिले गाउँलेहरू उनैलाई सम्झन्छन् । उनले आफ्नो टोलका धेरै बिरामी र गर्भवतीलाई बोकेर समेत स्वास्थ्य चौकी पुर्याएकी छन् । उनै मंगला सरकारले चलाएको छाउगोठ भत्काउने अभियानमा खुलेर लागेकी छन् । स्थानीय आमा समूहकी अध्यक्षसमेत रहेकी मंगलाले भनेकै आधारमा पनि धेरै महिलाले छाउगोठ नबार्न सहमत भएका छन् ।
मंगलसैन–५ कै गंगा विष्टलाई महिनावारी भएको समयमा छोराछोरीलाई खाना पकाउन, स्कुल पठाउन र हेरविचारमा अप्ठ्यारो पर्थ्यो । सासुससुरालाई धेरैपटक सम्झाइ बुझाइ गरी घरमा बस्न खोज्दा पनि बस्न दिएनन् । अन्ततः उनले उनै मंगलाको सहयोग मागिन् । मंगलाले गंगाका सासुससुरालाई छाउगोठका बारे रहेका गलत सोंच र संस्कृतिबारे बताएपछि उनीहरू छाउगोठ भत्काउन राजी भए । ‘मंगला दिदी नभए मैले अझैसम्म पनि दुःख भोगिरहेको हुन्थें । मेरो लागि भगवान नै भएर आउनु भयो,’ गंगाले भनिन्, ‘हाम्रो लागि उनै डाक्टर हुन् । उनले भनेको कुरा सबैले पत्याउँछन् ।’ उक्त सामाजिक अभियान सफल पार्न स्वयंसेविकाको मुख्य भुमिका रहेको गंगाको बुझाइ छ ।
समुदायका महिला सानादेखि ठूला समस्या पर्दा श्रीमान्, सासुससुरालाई भन्दा पहिला स्वास्थ्य स्वयंसेविका गुहार्ने गरेको मथुरा बताउँछिन् । ‘निस्वार्थ भावनाले समाज परिवर्तनका लागि लागेका छौं । कुप्रथा र कुसंस्कार हटोस् भन्ने चाहन्छौं,’ उनले भनिन्, ‘गोठ भत्काएर बस्न समस्या भएकालाई पनि हामीले व्यवस्थित गर्न खोजिरहेका छौं । सुरक्षित बस्न, बसाउन हामी जहिल्यै छलफल गर्छौं । बैठकमा समेत यस्तै समस्यामा छलफल गर्छौं ।’
छाउगोठ भत्काउने र यस्तो प्रथा हटाउन जिल्लाका सबै स्वास्थ्य स्वयंमसेविका खटिएका छन् । स्थानीयहरूसँग घुलमिल भइरहने हुँदा स्वयंसेविकामार्फत छाउगोठबारे उनीहरूलाई बुझाउन सजिलो भएको बताउँछन् अछाम स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले छाउगोठमा बस्न नपाउने र बसेको पाइए हटाउने निर्णय यसअघि नै भएको थियो । ‘धेरै स्वयंसेविका महिनावारी हुँदा घरमै बस्छन् । छाउगोठमा बस्न पाउँदैनन् । उनीहरू नै अभियन्तासमेत बनेका छन्,’ उनले भने । आफूसहित छोरी, बुहारी र समाजका अन्य माहिला महिनावारी हुँदा अन्धविश्वासका कारण छाउगोठ बस्नु नपरोस् भन्न गाउँका धेरै महिलाहरू अभियानमा जोडिएको उनले बताए । जिल्लामा नौ सय ४१ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
अभियानमा सरकारी अधिकारी, स्वास्थ्य स्वयंसेविकाका अलावा आमा समूहका सदस्यहरू, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रमा अवद्ध महिला र समाजिक अगुवाको समेत उल्लेख्य उपस्थिति रहने गरेको छ । छाउगोठ भत्काउने अभियान पछिल्लो समय गाउँ केन्द्रित भएकोले यसमा ग्रामिण महिलाको उपस्थिति र सहयोग मिलेको लकान्द्रास्थित भैरव माविकी शिक्षिका हिरा खड्का बताउँछिन् । यसअघि बजार र आसपासका क्षेत्रमा चलेको उक्त अभियान गाउँसम्म पुगेकोमा ग्रामीण महिला र किशोरी खुसी भएको उनले सुनाइन् । ‘सबैको हातेमालो र सहकार्यले मात्रै अभियान गाउँसम्म पुग्न सफल भएको हो । हामीले विद्यालयदेखि समुदायसम्म घरमै बस्नुहोस् भनेर सम्झाइ–बुझाइ गरिरहेका छौं,’ उनले भनिन् ।
गत पुस ९ बाट अछाममा स्थानीय प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान सुरु भएको हो । हालसम्म पाँच हजार छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । उनका अनुसार साँफेबगर नगरपालिका–३, सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मंसिर १५ गते राति छाउगोठमा मृत्यु भएपछि अभियानको खाँचो औंल्याइएको थियो । ‘अहिलेसम्म जिल्लाका १० स्थानीय तहमध्ये पाँच वटा छाउगोठमुक्त घोषणा भइसकेका छन् । पाँच वटा तह घोषणाको अन्तिम चरणमा छन्,’ उनले भने । श्रेष्ठका अनुसार मंगलसेन, कमलबजार नगरपालिका, तुर्माखाद, बान्निगढी जयगढ, ढकारी गाउँपालिका छाउगोठमुक्त घोषणा भइसकेका छन् । ‘जनप्रतिनिधि, स्थानीय र महिलाहरूकै सहायताले गोठ भत्काउन सम्भव भएको हो,’ उनले भने, ‘निकट भविष्यमै जिल्लालाई नै छाउगोठमुक्त घोषणा गर्छौं ।’
अवसर कहिले पाउने?
सदरमुकाम मंगलसैनबाट करिब १६ कोषको दूरीमा छ, ढकारी गाउँपालिका–७ को थारा गाउँ । यहाँ माध्यामिक तह उतीर्ण गरेका महिला छैनन् । ‘मासिक तलब खाने महिलाहरू यो गाउँमा छैनन् । धेरै पढेको भए ३ कक्षासम्म पढेकाहरू छन्,’ स्थानीय जुना दमाईले भनिन्, ‘बिहेबारी पनि आसपासका गाउँबाट हुन्छ । सदरमुकाम नजिकका गाउँमा बिहेबारी भएकै छैन ।’
जनप्रतिनिधि आएपछि साढे २ वर्षको अवधिमा गाउँमा बाटो पुग्यो । धेरै अवसर सिर्जना भएको बताइयो पनि । तर, टोलटोलमा जनप्रतिनिधि भए पनि थारा गाउँका अधिकांश महिलाले आफ्नो समस्याबारे बोलिदिने मान्छे भेटाएका छैनन् । पुरानै जीवनशैलीमा उनीहरू दैनिकी चलाइरहेका छन् । थारामा जस्तै जिल्लाका दुर्गम भेगमा बस्ने महिलाहरूले पनि अवसर पाएको महसुस गर्न सकिरहेका छैनन् ।
साबिकको ढुंगाचाल्ना गाविसअन्तर्गत पर्ने यो गाउँ अहिले छुट्टै वडा भएको छ । यहाँ दलित समुदायको बाहुल्य छ । अधिकांश पुरुषहरू कामको खोजीमा भारत जाने भएकाले गाउँमा महिला, वृद्धवृद्धा र बालबालिका मात्रै छन् । ‘गाउँमा स्कुल बने पनि अझै छोरीलाई पढाउन पठाउने गरेका छैनौं,’ स्थानीय चन्दा दमाईले भनिन्, ‘यहाँ छोरीलाई पढाउनुपर्छ भन्ने कोही आएका छैनन् । यसबारे हामीलाई केही जानकारी छैन । अब हाम्रो उमेर गयो । अक्षर चिन्ने धोको पूरा भएन ।’ उनका अनुसार यहाँका महिलाहरू अझै पनि आफूलाई राज्यको पहुँचबाट टाढा भएको महसुस गर्छन् ।
दैनिक उपभोग्य सामान पनि उनीहरूको पहुँचभन्दा बाहिर छ । ‘आयोडिनयुक्त नुन खानुपर्छ भन्ने त थाहा छ । तर, ३५ रुपैयाँ पोका किन्नु पर्छ । अहिले पनि ढिके नुन नै खान्छौं,’ स्थानीय धना दमाईले भनिन्, ‘दुर्गम गाउँको एउटा कुनामा बसेका छौं । यहाँ सामान के पाइन्छ । मूल्य कति पर्छ भनेर कसैले चासो दिँदैनन् ।’
विकट थारा गाउँका महिलाले सहजै स्वास्थ्य सेवा लिनसमेत पाउँदैनन् । अन्धविश्वास, कुरिती र कुसंस्कारका कारण अनेक स्वास्थ्य समस्या खेप्न बाध्य छन् । अहिले पनि यहाँका अधिकांश दम्पतीका ५/६ जनासम्म सन्तान छन् । सानै उमेरमा विवाह गर्ने क्रम पनि घटेको छैन । ‘२१ वर्षकि भएँ, तीन छोरी छन् । समाजलाई मान्नै पर्यो । छोरा नपाई त सुखै छैन,’ धर्मी दमाईले भनिन्, ‘परिवार नियोजनका साधनबारे जानकारी नै छ्रैन । त्यसैले यहाँ सन्तान जन्माउने क्रम पहिलेको जस्तै हो । केही बदलिएको छैन ।’
आत्मनिर्भरको प्रयास
पहिले दमाई समुदायका पुरुषले मात्रै सिलाकटाइ गर्थे । अहिले परिवेश बदलिएको छ । महिलाहरू पनि सिलाकटाइमा सक्रिय हुन थालेका छन् । ‘पहिले श्रीमान्ले सिलाइकटाइ गर्नु हुन्थ्यो । यही कामबाट परिवार धान्न नसकिने भएपछि उहाँ बम्बई जानु भयो,’ रुप्सी दमाई भन्छिन्, ‘घरेलु कार्यालयबाट तालिमको आयोजना हुने भन्ने खबर पाएपछि यही टोलका १० जना महिलाले सिलाइकटाइ सिकिरहेका छौं ।’
तालिम, गोष्ठीको पहुँचबाट समेत टाढा भएका थाराका महिलाहरू सिलाइकटाइ तालिममा भने पूरा समय दिइरहेको बताउँछन् । ‘सकेसम्म समय निकालिरहेका छौं । केटाकेटीको हेरचाह, गाइगोरुको स्याहारसुसारले सके जति गर्न सकिएको छैन,’ रुप्सीले भनिन् । महिलाहरू उत्साहित भएर सिकिरहेको प्रशिक्षक दानबहादुर दमाई बताउँछन् । ‘पुरुषहरू यस्ता तालिम पाउँदा पनि वास्तै गर्दैनन् । तर, यहाँका महिलाहरू सक्रिय सहभागिता जनाइरहेका छन्,’ उनले भने, ‘अझै उनीहरूलाई माथिल्लो स्तरको तालिम दिन आवश्यक छ । यति भयो भने व्यावसायिक रुपमा अगाडि बढ्न सक्छन् ।’ बजारतिर पाइने अवसर दुर्गम गाउँमा नै प्रदान गर्न सकिए ग्रामीण महिलाहरू पनि आत्मनिर्भर हुनसक्ने दानबहादुरकोभनाइ छ ।
अवसर प्रदान गर्ने हकमा गाउँपालिकाको आठवटै वडाका महिलाहरूलाई समान ढंगले हेरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउँद बताउँछिन् । ‘महिला जनप्रतिनिधि पनि बुझिरहेका छन् । महिलाहरूलाई अवसर दिनको लागि गाउँगाउँमा पुगिरहेका छौं,’ उनले भनिन्, ‘अवसर दिने कुरामा सुगम र दुर्गम हेरेका छैनौं ।’मेनुका
ढुङ्गाना कान्तिपुर
प्रकाशित मिति: २ चैत २०७६, आइतवार ११:३८ बजे