६ फागुन २०८१, मंगलवार

कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न कांग्रेस तयार

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा नरहे पनि संकटको बेलासँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ ।बैठकले पीपीई, भेन्टिलेटर, परीक्षण किटलगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताउनुभयो ।

पीपीई, परीक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्यभन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उहाँले बताउनुभयो। ल्याइएका स्वास्थ्य सामग्रीहरु प्रयोग गर्न उचित नहुने स्वास्थ्यकर्मीहरुले बताएको उल्लेख गर्दै गम्भिरतापूर्वक लिएको उहाँले बताउनुभयो ।

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वरेन्टीनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।

ज्यालादारी श्रमीकहरुलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ ।बैंकबाट २० लाख रुपैयाँ सम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तीमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने,पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लगायतको व्यवस्था गर्न समेत माग गरेको छ ।

कृषि क्षेत्रमा काम गरेकाहरुलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताउनुभयो । पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य, पार्टीको जिल्ला कार्य समितिको नेतृत्व देखि टोलसम्मको नेतृत्वमा रहेका सबैलाई आ-आफ्नो ठाउँबाट उच्च मानवीय भावनाका साथ काम गर्न निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २५ चैत २०७६, मंगलवार १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु