३० माघ २०८१, बुधवार

लकडाउनमा पनि धरहरा पुनःनिर्माणको काम जारी

काठमाडौं । कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन ।

गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनःनिर्माणको काम गरिरहेका थिए । काममा खटिएका धेरै नेपाली थिए भने २० जना मात्र बङ्गाली रहेका थिए ।

सप्तरी र दाङका नेपाली कामदारले विभिन्न किसिमबाट घर जाने मेसो मिलाए पनि बंगाली कामदारलाई घर जान समस्या भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षितरुपमा उनीहरुलाई काम गराउन दिएको जनाएको छ । ती कामदारले अहिले जगभन्दामुनि पिल्लर राख्ने काम (माइक्रो पाइल) गरिरहेका छन् ।

उनीहरुका लागि खाने र बस्ने व्यवस्था भने निर्माण व्यवसायीले गरिदिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार दश तलाको ढलान भएसँगै हाल धरहराको ३८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।-

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रवार २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु