२३ मंसिर २०८१, आइतवार

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीकाे गाउँ सिल

सुत्केरी महिला उपचारको लागि धामीझाँक्रीका घर पुगेकी थिइन्

सिन्धुपाल्चोक । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सुत्केरीकाे गाउँलाई सिल गरिएको छ ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो ।

शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले उक्त क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।

सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि एक युवकले माेटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकाेमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेकाे बताए ।

पछि एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए ।

सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बाेलेरो गाडीमा हालेर घर ल्याइएको थियो ।

घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए । केन्द्रमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएकाे थियो ।

प्रकाशित मिति: ३ जेठ २०७७, शनिवार १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु