२१ असोज २०८१, सोमवार

बाँकेमा बिहीबार ४४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

नेपालगञ्ज । बाँके जिल्लामा बिहीबार थप ४४ जना संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो समयमा जिल्लामा संक्रमित थपिने र निको भएर घर फर्किने दुबै संख्या बढेको छ । विहिबार मात्रै ४४ जना निको भएर घर फर्किएपछि जिल्लामा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ११ सय नाघेको छ ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका ४४ जना विहिबार डिस्चार्ज भएसँगै संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार १३२ पुगेको बताउनुभयो । उहाँले अहिले आएर बाँकेमा निको हुने दर ७३.२२ प्रतिशत पुगेको पनि बताउनु भयो । बुधवारसम्म निको हुने दर ७१.९६ प्रतिशत रहेको थियो ।

कोराना सम्पर्क व्यक्ति श्रेष्ठले निको हुने दर बढ्दै गएकोले जिल्लाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी उत्साहित भएको बताउनुभयो ।

जिल्लामा संक्रमणको फैलावट दर भने ०.२६ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार पछिल्ला दिनमा बाँकेका ग्रामीण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा कोराना भाइरस संक्रमणको जोखिम बढी देखिएको छ । पछिल्लो समयमा थपिएका संक्रमितहरुमा अधिकांश सहरी क्षेत्रकै रहेका छन् ।
जिल्लामा हालसम्म संक्रमित हुनुभएका १ हजार ५४६ जना मध्ये आधा भन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका वासिन्दा रहेको कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अझै पनि विभिन्न आइसोलेसनमा ४०६ जनाको उपचार भैरहेको छ ।

यस्तै, बिहीबार बिहानै बाँकेमा १० जनामा संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्निक सेन्टर नेपालगञ्जमा भएको पछिल्लो परीक्षणमा बाँकेमा बिहीबार विहान १० जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले मेडिकल कलेजको परीक्षणबाट नेपालगञ्ज वडा नं–२ देखि १३ सम्मका ९ जना र बागेश्वरीबाट नेपालगञ्ज वडा नं–२० का एक जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।
यसरी बिहीबार बिहान थपिएकाहरुमा ५ महिला र ७ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति: १ असोज २०७७, बिहीवार १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु