धुलिखेल नगर शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने संसारका १५ सहरको सूचीमा
वातावरणमैत्री पर्यटकीय सहर बनाउँछौं : प्रमुख अशोक ब्यान्जु

काठमाडौं । धुलिखेल नगरपालिका शून्य कार्बन उत्सर्जन गर्दैै वातावरणमैत्री विकास गर्ने संसारका १५ सहरको सूचीमा समावेश भएको छ । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस-एन्जल्स पनि अटाएका छन् । काभ्रेको धुलिखेल सूचीको पाँचौं स्थानमा छ ।
आगामी महीनामा बेलायतको ग्लास्गोमा हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ अगाडि यो सूची सार्वजनिक भएको हो । धुलिखेल नगरपालिकाले दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएको थियो ।
उक्त सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको छ ।
संसारका ठूला र सफा सहरको सूचीमा धुलिखेल पनि समावेश हुनु गौरव र हर्षको कुरा भएको कुरा नगरप्रमुख अशोककुमार व्याञ्जुले बताउनुभयो । जलवायु परिवर्तनको असरलाई कम गर्न आफूले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई अघि बढाएको उहाँले बताउनुभयो ।
यसैबीच, नगरपालिकाले आज सूचना जारी गर्दै धुलिखेलमा शून्य ग्रीनहाउस ग्याँस उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा पनि जीवाश्म इन्धन अप्रसार सन्धी अभियानको कार्यान्वयनमा डटेर अघि बढ्ने पनि नगरप्रमुख व्याञ्जुले बताउनुभयो ।
प्रकाशित मिति: २१ असोज २०७८, बिहीवार २०:०३ बजे