२ चैत २०८१, आइतवार

प्रचण्डलाई विप्लवको जवाफ : ‘कुहिएको ब्यवस्थाबाट बाहिर आउनुस बिचार गरौंला’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ फर्काएका छन् । पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गर्न अपिल गरेका छन् । सबैसँग एकताका लागि आफूहरु तयार रहेको भन्दै विप्लवले पहिलो सर्त संसदीय व्यवस्था अन्त्यका लागि तयार हुन पर्ने बताए ।

उनले भने, ‘हामी सबैसँग एकता गरेर जान तयार छौँ । त्यसका लागि दलाल संसदीय व्यवस्थाबाट बाहिर आउनु पर्यो । जनताको व्यवस्था स्थापित गर्नका लागि सघर्ष गर्न तयार हुन पर्यो ।’ विप्लवले ६५ प्रतिशत कम्युनिस्ट समर्थक भएको देशमा फेरी पनि संसदीय राजनीति गरेर बसेको भन्दै प्रचण्डको चर्को आलोचना गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मन्चबाट पार्टी एकताका लागि विप्लवलाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको प्रतिउत्तरमा विप्लवले प्रचण्डलाई पहिला कुहिएको, मक्कीएको, गन्हाएको संसदीय व्यवस्थाबाट बाहिरिएर आउन आग्रह गरे ।
महासचिव विप्लवले सरकारले तीन बुँदे सहमतिको उल्लंघन गरेको बताएका छन् । महासचिव विप्लवले नेकपासँग गत फागुन २१ गते भएको तीन बुँदे सहमति तत्कालीन सरकारले समेत पालना नगरेको र वर्तमान शेरहादुर देउवा नेतृत्वको सराकारले समेत उक्त सहमति उल्लंघन गरेको बताउँदै हिजो मात्र नेकपा इलामका तत्कालीन इञ्जार्ज पुष्प कोइरालालाई अदालत रिहा गरिसकेपछि पुनः पक्राउ गरेर संखुवासभा लगिएकोलगायत देशैभरिको घटनाले सरकारले तीन बुँदे सहमतिको उल्लंघन गरेको पुष्टि भएको बताए । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

महासचिव विप्लवले विराटनगर जुट मिलदेखि मजदुरले लगातार संघर्ष गर्दै आएको बताउँदै अहिलेसम्म पनि मजदुरले अधिकार प्राप्त गर्न नसकेको बताए । उनले मजदुरले आफ्नो अधिकार प्राप्तिको लागि थप संघर्ष गर्नु आवश्यक रहेको बताउँदै मजदुरको संघर्षको नेतृत्व आफ्नो पार्टीले लिन तयार भएको बताए ।
यसैगरी, महासचिव विप्लवले आफ्नो पार्टीविरुद्ध सेना र प्रहरीलाई सरकारले भड्काउन खोजेको ठोकुवा गर्दै भने अस्ति मात्र नेकपाबाट शान्तिसुरक्षामा थ्रेट छ भनी जुन अफवाह फैलाइएको छ भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा खडा भएको नेकपाको विपक्षमा नलाग्न उनले सेना र प्रहरीलाई आग्रह गरे ।

यसैगरी, सोही समारोहलाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले मजदुर सम्मेलन आफैँमा ऐतिहासिक भएको बताउँदै वर्तमान संसदीय व्यवस्थामा सबैभन्दा पीडित, अन्याय र ठगीमा मजदुर परेको बताए । उनले मजदुर आन्दोलन सही विचार र सही नीतिद्वारा निर्देशित हुनुपर्ने बताउँदै पुँजीपतिहरुले जन्माइदिएका अभिजात वर्गीय पार्टीद्वारा सञ्चालित भएर मजदुरको हित र मुक्ति नहुने बताए । उनले सबै मजदुर एकताबद्ध भएर संघर्षमा उत्रनुपर्ने बताउँदै मजदुर आन्दोलनमा आफ्नो पार्टीको साथ र सहयोग रहने बताए ।

प्रकाशित मिति: १७ असोज २०७८, आइतवार १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु