मन्त्रालय बाँडफाँडबारे शीर्ष नेताहरुबीच सहमति, दलहरू आन्तरिक छलफलमा
काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउने विषयमा छलफल गरेका छन् । मंगलबार मध्यान्ह बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाडफाँडको विषयमा सहमति गरेका छन् ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो ।
‘मन्त्रालय बाडफाँडको विषयमा सहमति भएको छ । अब त्यहीअनुसार मन्त्रीको नाम आएपछि केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । उनका अनुसार मंगलबारै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भने कम छ । ‘एक चरण सहमति भएको छ । दलभित्र आन्तरिक छलफलपछि फेरि साँझ बैठक बसेर टुंग्याउने तयारी छ,’ उनले भने ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बैठकमा मन्त्रालय बाडफाँडको विषयमा प्रारम्भिक सहमति भएको र आन्तरिक छलफलपछि टुंगोमा पुर्याउने सहमति बनेको बताए । ‘अब दलभित्रै आन्तरिक छलफल गरिरहेका छौँ । भोलि या पर्सिसम्म टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुनसक्छ,’ उनले भने ।
प्रकाशित मिति: १९ असोज २०७८, मंगलवार १५:०४ बजे