अक्सिजन प्लान्ट, मेथिनकोट अस्पतालमा जडान
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्ट र लुगा धुने मेसिनको जडान गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र उनीहरूलाई सहज रुपमा सेवा पुर्याउने उद्देश्यले अक्सिजन प्लान्ट जडान गरिएको हो ।
अक्सिजन प्लान्टको शनिबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले उद्घाटन गर्नु भएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक ६७ लाख र रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो भने लुगा धुने मेसिनको लागी २० लाख को लागतमा जडान गरिएको हो । यो भन्दा अगि बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक १२ लाख २२ हजार ३ सय ९५ रुपैयाँमा आकस्मिक कक्ष निर्माण गरिएको मेथिनकोट अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगरले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले तत्कालीन समयमा मेथिनकोट अस्पताललाई क्षेत्र नम्बर १ को क्षेत्रीय अस्पतालको रुपमा स्थापना गरिएको स्मरण गर्दै अहिले प्रदेशस्तरीय अस्पताल बनाउन सफल भएको बताउनुभयो । अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टले बिरामीहरूको उपचार सेवाले थप प्रभावकारी बन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नु भयो । अस्पतालमा पछिल्लो समय सेवा सुविधा थपिँदै गएको र चाँडै नै अव अस्पतालको लागी थप कर्मचारी र नयाँ भवन निर्माण गर्न प्रक्रिया अघि बढिसकेको नगर प्रमुख तिमल्सिनाले बताउनु भयो ।
मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै यसले नमोबुद्ध नगरपालिका मात्रै नभएर आसपासका गाउँपालिका तथा छिमेकी जिल्लाहरू रामेछाप, सिन्धुलीका बिरामीले समेत सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने अवस्था सिर्जना भएको प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले बताउनु भयो । अस्पताल चलाउन सरकारले मात्र चासो देखाएर न चल्ने उहाँले बताउनुभयो । कर्मचारी एक जुट भएर काम गरेमा सरकारले गरेको पहलहरू सफल हुने मन्त्री लामाले बताउनुभयो ।
मेथिनकोट अस्पताल सबैको साथ र सहयोगमा स्तरोन्नति भएको भन्दै सेवा सुविधासमेत अझै प्रभावकारी बनाउँदै लैजाने र भौतिक पूर्वाधारका साथै आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न अस्पताल लागि परेको छ ।
प्रकाशित मिति: १० असोज २०७८, आइतवार १७:२५ बजे