४ जेठ २०७९, बुधवार

काँग्रेस नेता बस्नेतको कब्जामा वनको जग्गा

– अख्तियारको छानबिन जारी

काभ्रेपलाञ्चोक । नापी र मालपोतको रेकर्डमा वन क्षेत्र (जङ्गल) कायम भएको ११ रोपनी र सार्वजनिक २ रोपनी जग्गा नेपाली काँग्रेस धुलिखेल नगर समितिका सभापति विदुर बस्नेतको समूहले कब्जा गरेको लामो समयसम्म फिर्ता भएको छैन । कब्जा गरिएको जमिन प्लटिङ गरिएको छ । स्थानीयहरूको उजुरीका आधारमा उक्त जग्गा नगरपालिकाले रोक्का राखेको छ भने अख्तियारले छानबिन गरिरहेको छ । नेता बस्नेतले यस्तै जग्गा कब्जा गरी करोडौँ रकम कमाएका छन् ।

धुलिखेल नगरपालिका वडा नम्बर १० साबिक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्बर ५ मा रहेको कित्ता नम्बर १५ को ११ रोपनी र सँगै रहेको सार्वजनिक २ रोपनी जमिन कब्जा गरी कित्ता नम्बर १४ मा मिसाएर प्लटिङ गरिएको छ । कित्ता नम्बर १५ लाई कित्ता नम्बर १४ भित्रै पारी पास गरेका तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस विना २२ रोपनी २ आना ३ दाम गरिएको छ । सार्वजनिक २ रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको छ ।

पञ्चायतमा वडा अध्यक्ष समेत रहेका बलराम पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्बर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्बर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्बर ८ साबिक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रविन्द्र अधिकारीका नाममा सगोलनामामा पास गरी दिएका थिए । लालपुर्जामा २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस बिना २२ रोपनी २ आना ३ दाम पास गरिएको छ । सार्वजनिक २ रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको हो ।

बलराम पराजुलीले बैकमा राखेको उक्त जग्गा लिलामी हुन लागेपछि उक्त समूहले खरिद गरी आफ्नो नाममा बनाएको थियो । आफ्नो नाममा पास गरे लगत्तै डिमारकेसन भित्र रहेको बन सिमानाको जमिनलाई एकलौटी रूपमा हाल साबिक गरी थपिएको हो । जग्गा प्लटिङ गर्ने मध्येका रविन्द्र अधिकारीले आफूहरूले कानुन अनुसार नै जग्गा खरिद गरी प्लटिङ गरेको बताउनु भयो । ‘यो जग्गा भित्र बन भएको हामीलाई जानकारी छैन, छुट भएको जमिनलाई हालसाबिक गराएका छौँ, कानुन विपरीत रहेछ भने छाड्न तयार छौँ’–अधिकारीले भन्नु भयो ।

२०७६ ज्येष्ठ ३ गते शारदा बतासे वडा नम्बर ५ अन्तर्गत इन्द्रबहादुर भुजेलले बारीका पाटा बनाएको सेतिमाटी सापकोटाको पाखो नामकरण सार्वजनिक रूपमा हुँदै आएको जग्गा व्यक्तिगत रूपमा प्रयोग हुन गएको हुँदा उक्त पाखो के, कसरी र को मार्फत व्यक्तिगत हुन गएको हो ? यकिन रूपमा छानबिन गरियोस् भन्दै १ सय १९ जना वडावासीहरूले वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् । कित्ता नम्बर १५ को जङ्गल क्षेत्रको ११ रोपनी क्षेत्रफलको जमिन कसरी गायब गरियो ? स्थानीयले प्रश्न गरेका छन् । प्रति आना ३ लाखका दरले हालको मूल्य अनुसार ६ करोड २४ लाख रुपैयाँ उक्त जमिनलाई पर्नेछ । चार किल्ला र मोठ अनुसारको जग्गा कहाँ गयो ? कित्ता नम्बर १४ र १६ बिचको जग्गा गायब गर्ने व्यक्तिहरूलाई कडा कारवाहीको माग गरिएको छ ।

कित्ता नम्बर १५ मा रहेको बन जङ्गलको पूर्व १४ नम्बर कित्ता कृष्णप्रसाद पराजुलीका नाममा दर्ता भएको थियो । शारदा बतासे वडा नम्बर ३ मा रहेको उक्त जग्गा धनी कृष्णप्रसादका बाबु डिल्लीप्रसाद र बाजे प्रेमलाल हुन् । सोही कित्ताको पूर्वमा सिमाना, पश्चिममा १० नम्बर कित्ता, उत्तरमा १३ नम्बर कित्ता र दक्षिणमा पनि सिमाना उल्लेख गरिएको छ । जसमा २० रोपनी ८ आना जग्गा २०३२ सालको नापीमा नाप गराई २०४५ सालमा दर्ता गरिएको छ । कृष्णप्रसाद पराजुलीले बलराम पराजुलीसँग परिवारको बर्षाै देखि सम्पर्क नभएको बताउनु भयो । आमा रेशमकुमारी पराजुलीका नाममा दर्ता कायम गरिएको १४ नम्बर कित्तालाई बलराम पराजुलीले विक्री गरेका थिए ।

७७ वर्षीय स्थानीय प्रेमबहादुर केसीले कित्ता नम्बर १५ को पुरै भाग बन जङ्गल भएको र सोही कित्ता १४ र १६ नम्वरको बिचमा रहेकाले आफूले जाने देखि नै बस्तुभाउ चराउने सार्वजनिक पाखोको रूपमा प्रयोग भएकाले प्लटिङ हुनु र ब्यक्तिका नाममा जानु दुखद भएको बताउनु भयो । ‘कि भगवान् जान्दछन्, कि गर्नेले जान्नु प¥यो’–उहाँले भन्नुभयो–‘गाई चराउने पाखो कसरी व्यक्तिगत हुन सक्छ ?’ स्थानीय रामकृष्ण विष्टले कित्ता नम्बर १७९ सँग साबिकको कित्ता नम्बर १५ जोडिएकाले १४ नम्बर कित्ता भित्र बन कसरी पस्यो ? अनभिज्ञ भएको बताउनु भयो । ‘२०३२ सालसम्म सार्वजनिक जग्गा हालसम्म पनि गाई चरनका रूपमा स्थापित थियो, एकाएक कसरी प्लटिङ हुन पुग्यो’–उहाँले भन्नु भयो–‘२०४५ सालमा छुट जग्गा दर्ता गराउँदा सबै बन क्षेत्रको जमिन आफ्नो नाममा गराएका रहेछन् । १४ नम्बर कित्तामा सुरुमा १४ रोपनी जमिन थियो २०४५ साल फागुन २४ गते २०–८–१–२ रोपनी बनाउँदै २०७५ सालमा २२ रोपनी बनाइएको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर १० का अध्यक्ष पुष्पराज राउतले स्थानीयहरूले दिएको उजुरीका बारेमा अध्ययन अनुसन्धान सुरु गरिएको बताउनु भयो । ‘मोठ, चार किल्ला प्रमाणित, नक्सा अनुसार जग्गा प्लटिङ्ग भएको छैन । कित्ता नम्बर १४ र १६ बिचको सिमाना उल्लेख गरेको जग्गा खोई ? स्थानीय सहित हाम्रो चासो र अध्ययनको विषय त्यही हो’–अध्यक्ष राउतले भन्नु भयो–‘वडा कार्यालयले साबिकको जग्गा २०–८–१–२ रोपनीका लागि लिलामी भई विक्री वितरण हुन लागेपछि रविन्द्र्र अधिकारी र विदुर बहादुर बस्नेतलाई सिफारिस दिएको हुँ ।’ नापी र मालपोतको पनि मिलेमतो देखियो । जग्गा नापजाँच र हाल साबिक गर्दा स्थानीय, जनप्रतिनिधिलाई जानकारी नै छैन ।

सामान्य नागरिकको महिनौँ काम हुन सक्दैन तर उहाँहरूको एकै दिन सम्पूर्ण कार्य सम्पन्न भएको छ । स्थानीय ईन्द्रबहादुर भुजेललले कित्ता नम्बर १५ को जग्गालाई पाटा पाटा बनाई बन क्षेत्रमा खेती गर्न सुरु गरेपछि बनेपा इलाका बन कार्यालयले २०४१ साल पौष ५ गते हाजिर हुन आउने गरी पौष ३ गते इन्द्रबहादुर भुजेललाई पत्र काटेको थियो । दोश्रो पटक पौष २१ गते, तेश्रो पटक माघ २३ गतेलाई कार्यालय डाकेको थियो । उक्त मुद्दा २३ नम्बर डायरी अन्तर्गत २०४२ साल साउन २ गते दर्ता भएको थियो । शारदा बतासे गाउँ पञ्चायत वडा नम्बर ३ हाल वडा नम्बर ५ बस्ने इन्द्रबहादुर भुजेलको मुद्दामा २०४६ साल माघ २४ गते फैसला भएको थियो । उक्त मुद्दामा पूर्वमा प्रेमबहादुर समेतको खरबारी साँध, पश्चिम डिल्लीप्रसादको साँध,उत्तर वृक्षारोपण र दक्षिण शिवप्रसाद पराजुलीको साँध रही चार किल्ला भित्रको पर्ति जग्गामा पानी घाट, गौचरणको रूपमा भएको जग्गा इन्द्रबहादुर भुजेलले खनजोत गरी, गौडा बन्द गरी गाई बस्तुलाई पानी खुवाउन बाधा परेकाले हक नपुग्ने जग्गा फेरबदल गरेकाले गाउँ पञ्चायतले कारवाहीको माग गरेको उल्लेख छ ।

१३ जनाले भुजेल विरुद्ध उजुरी दिएका थिए । क) लम्बाई ६० मिटर, चौडाइ २५ मिटर, जग्गाको हैसियत नाङ्गो ख) लम्बाई १५० मिटर, चौडाइ ८० मिटर, नाङ्ग कित्ता नम्बर १५ को जग्गा र बन सिमानाको जग्गा समेत अन्दाजी १२ रोपनी जग्गा सम्धी सर्पणको आधारमा इन्द्रबहादुर भुजेलले आवाद गरेका थिए । तत्कालीन प्रधानपञ्च पदमध्वज थापा क्षेत्री समेतले सर्जिमिन गरी उक्त जमिन बन क्षेत्र भित्र पर्छ भनी मुचुल्का गरिदिएका छन् । इन्द्रबहादुर भुजेलले नयाँ आवाद गरेको बन क्षेत्र भएकाले प्रधानपञ्च पदमध्वज खत्री समेतको बकपत्र, उजुरी निवेदन, घटनास्थल सर्जिमिन मुचुल्का एकै प्रकारको देखिएकाले शारदा बतासे गाउँपञ्चायत वडा नम्बर ३ (ख) को फिल्डबुकमा समेत जङ्गल जनाई नाप, नक्सा भएको जग्गा इन्द्रबबहादुर भुजेलको हक दाबी नलाग्ने र निजले आफ्नो नाममा रहेको कित्ता नम्बर १६ को १६ रोपनी ३ आना जग्गा बाहेकको अन्य जग्गामा निजको हक नपुग्ने फैसला गरेको छ ।


कित्ता नम्बर १५ को क्षेत्रफल धनहर ०–१४–३–२, भिर पाखो ९–१५–१ को जग्गा सरकारी वन जङ्गल पर्ति जग्गा अरू दर्ताको नाताले र वन आवाद प्रतिवादी भुजेललाई वन ऐन २०२४ को दफा ३ को (ख) अन्तर्गत कसुर प्रमाणित भएकाले सोही ऐनको दफा ९ (१) को उप दफा (ख) अनुसार प्रति रोपनी ५० रुपैयाँका दरले ५ सय ४४ रुपैयाँ ७२ पैसा दण्ड जरिवाना गर्नु पर्ने ठहर गरेको छ । उक्त कित्ता नम्बर १५ को जग्गा आवाद गरेको भए पनि सच्याउन ईलाका बन कार्यालय बनेपालाई लेखी पठाउन र उक्त निर्णय चित्त नबुझे ३५ दिन भित्र बागमती अञ्चल कार्यालयमा पुनरावेदन गराउन दिने गरी गरिएको २०४६ साल माघ २४ गतेको फैसला सुनेको भनी स्वंय इन्द्रबहादुर भुजेलले सही छाप गरेका छन् । उत्तर १० नम्बर कित्ता, दक्षिण १६ नम्बर कित्ता, पश्चिम सिमाना शारदा बतासे पञ्चायत ३ (ख) मा रहेको यो जग्गा डिमारकेशान भित्रको जङ्गल सिमानाको जङ्गल हो भनी तत्कालीन वडा अध्यक्ष बलराम पराजुली स्वयंले प्रमाणित गरेका थिए । उनै पराजुलीले इन्द्रबबहादुर भुजेल थुनाउन उजुरी गरे भने उनैले त्यही बनलाई आफ्नो नाममा दर्ता गराए ।

२०४४ साल असार ३० गते बलराम पराजुली र कृष्णप्रसाद पराजुलीको आमा रेशमकुमारी पराजुलीले छुट जग्गा दर्ताका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा १७८४ नम्वरमा निवेदन दर्ता गराउनु भएको थियो । उहाँले २०४२ साल चैत्र १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट १९४५० नम्वरको नागरिकता लिनु भएको छ । कित्ता नम्बर १४ को २०–८–१–२ क्षेत्रफलको जग्गा भुलबस छोरा कृष्णप्रसाद पराजुलीका नाममा दर्ता भएकाले आमा रेशमकुमारी पराजुलीको नाममा दर्ता गरी पाउँ भनी २०४४ असार ३१ गते शारदा बतासे गाउँ पञ्चायत कार्यालयमा निवेदन दर्ता गराएका थिए । कृष्णप्रसाद पराजुलीका नामबाट आमा रेशमकुमारी पराजुलीको नाममा दर्ता भएको उक्त जग्गा छोरा बलराम पराजुलीका नाममा २०५५ साल असोज ९ गते नामसारी भएको छ ।

बलराम पराजुलीले आमा भन्दा १५ वर्ष अघि २०२७ साल मसिंर ३ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ७७ नम्वरको नागरिकता लिनु भएको छ । गाउँपञ्चायतको सिफारिस, जग्गा दर्ता गर्ने व्यक्ति रेशमकुमारीको निवेदनका आधारमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मितिमा गरेको टिप्पणी, अभिलेख र नाप जाँचका आधारमा भन्दै छुट जग्गा दर्ता गरिदिएको छ ।

प्रकाशित मिति: ३० चैत २०७८, बुधवार २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु