८ भदौ २०८३, आइतवार

किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक पर्छ – मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियानले आज आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफलमा आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडीआई’ लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा भएको भन्दै उहाँले धेरै आशङ्का गरेर विकासका कामहरु रोक्ने कुरा राम्रो नहुने बताउनुभयो । “हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो, “तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरुलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ, वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशङ्का गरेर विकासका काम रोक्ने कुरा राम्रो होइन ।”

उहाँले सरकारले साना किसानलाई मार्ने गरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको उल्लेख गर्दै ठूला–ठूला देशमा पनि एफडीआई लागू भएको छ र कृषिको विकास भएको छ, कृषि क्षेत्रको विकासका लागि नेपालमा ठूलो लगानीको जरुरी छ भन्नुभयो । मन्त्री अर्यालले यो मौसमसम्मका लागि सरकारले मलको व्यवस्था गरेको र अब मलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका निम्ति योजना बनाएर तयारी गरेको जानकारी दिनुभयो । उहाँले त्यसका लागि सरकार मल कारखाना बनाउने दिशामा अगाडि बढेको र कारखाना निर्माण गर्न केही समय लाग्ने देखिएकाले अहिलेको समस्या समाधान गर्नका लागि सातै प्रदेशमा आवश्यक विवरण माग गरिएको समेत बताउनुभयो ।

प्रकाशित मिति: ९ चैत २०७७, सोमवार २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु