धुलिखेल नगर विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित

धुलिखेल । धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित भएको छ ।
विश्वका १ सय ३६ देशका शहर सदस्य रहेको १७ सदस्यीय संगठनको कार्यसमितिमा धुलिखेल नगरपालिका पनि निर्वाचित भएको हो । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व स्मार्ट दिगो शहर संगठनको पाँचौ महासभा मार्फत धुलिखेल नगरपालिका कार्यसमिति सदस्यमा निर्वाचित भएको हो महासभालाई नगरप्रमुख अशोक ब्याञ्जुले सम्बोधन समेत गर्नुभएको थियो ।
धुलिखेल नगरपालिका शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने संसारका १५ शहरको सूचीमा समावेश भएको छ । सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस एन्जल्स पनि अटाएका छन् । धुलिखेल नगरपालिका सूचीको पाँचौं स्थानमा छ ।
धुलिखेल नगरपालिकाले ‘खाद्य हरियाली शहर’ कार्यक्रम सुरु गरेको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका बीच ‘खाद्य हरियाली शहर’ कार्यक्रम लागु गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएर काम अघि बढेको हो ।
प्रकाशित मिति: १ कात्तिक २०७८, सोमवार २१:३३ बजे