१ साउन २०८२, मंगलवार

शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्नुभएको छ भने कोरोनाबाट बच्ने उपाय अपनाउनुभएको छ । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहनुभएको छ ।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गर्नुभएको छ । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्नुहुन्छ नभए भेटघाट पूरै बन्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

सल्लाहकार थापाले पहिला जस्तो दौडधूप गर्नुहुन्न तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्नुहुन्छ । उहाँ आफैँ स्वास्थ्य उपचारपछि आराममा हुनुहुन्छ । त्यसैले उहाँ स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो भन्नुभयो ।

प्रम ओली कोरोनाप्रति आफू सचेत हुनुहुन्छ र अरूलाई सचेत रहन सल्लाह दिनुहुन्छ । शनिबार उहाँले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गर्नुभएको थापाले जानकारी दिनुभयो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किनुभएको छैन । उहाँ ‘सेल्फ क्वारेन्टाइन’मा हुनुहुन्छ । नेता तथा कार्यकर्तासँग कम भेटघाट गर्नुभएको छ । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: ९ चैत २०७६, आइतवार ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु