२२ जना रौतहटका कोरोना सङ्क्रमित, सबै भारतबाट आएका थिए
रौतहट । रौतहटमा मंगलवार फेरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।
गौर नगरपालिकामा पहिलो पटक ७, देवाही गोनाही नगरपालिकामा ३ र राजदेवी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँले रौतहटबाट करीब ११ सयको स्वाब संकलन गरी केन्द्रिय प्रयोगशाला टेकुमा पठाइएको र परीक्षण रिर्पोट आउने क्रम जारी रहेको बताउनुभयो
संक्रमण पुष्टि भएकाहरु सबैजना भारतबाट नै आएको समेत उहाँले बताउनुभयो ।
मंगलवार संक्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् ।जिल्लामा २२ जना संक्रमित फेला परेको सिडियो घिमिरेले पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले यसबारे अझै केहि पनि भनेको छैन ।
संक्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि सोमवार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका मध्ये २६ जना संक्रमित भेटिएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ७० पुगेको छ ।
यसैविच पछिलो समय भारतबाट आउनेको संख्यामा वृद्धि भएको छ ।
भारत सरकारले अप्रवासी मजदुरलाई स्पेसल ट्रेनमार्फत गन्तव्यसम्म पुर्याउन थालेपछि रौतहट लगायत सिमानासंग जोडिएका जिल्लाहरुमा आउनेको संख्या बढदै गएको छ ।
भारतबाट आउनेहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम भएकाले रौतहटका सिडिओ बाशुदेव घिमिरेले जिल्लाको १८ वटै स्थानीयतहमा थप पाँच–पाँचसय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ ।
भारतबाट आउने नेपालीको संख्या बढ्दै गएपछि स्थानिय तहले क्वारेन्टिन बनाएर राख्न थालेको छ ।
रोजगारी वा अन्य कामको लागि भारतको विभिन्न स्थानमा पुगेकाहरु अहिले सिमा क्षेत्रमा आएर अलपत्र परेपछि रौतहटका स्थानिय तहले उनीहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सोमवार दिउँसोसम्मको तथ्यांक अनुसार यस जिल्लाको विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या २ हजार ७ सय भन्दा बढि रहेकोे छ । जस अनुसार २ हजार ५ सय १६ पुरुष र १ सय ९१ महिला क्वारेन्टाईनमा छन ्।
स्थानीय तहले भारतबाट आएका नेपालीलाई सीमा नाकाबाट सीधै आफ्नो पालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा राख्ने गरेको छ ।
स्थानिय तहले विद्यालय, मदरसा तथा सामुदायिक भवन गरी हालसम्म ३ हजार १ सय ३४ क्वारेन्टाईन बेडहरुको व्यवस्थापन गरेको छ ।
भारतबाट फर्किनेको संख्या बढ्दै गएपछि स्थानिय तहका जनप्रतिनिधिहरु क्वारेन्टिन बेडहरुको संख्या अझ बढाउने तर्फ लागेका छन् ।
रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिने गरिएको र नेपालको कुनै ठाँउबाट आएको पाइएमा चेकजाँच पछि डाक्टरकै सल्लाहअनुसार गर्न सबै प्रहरी इकाईमा निर्देशन पनि दिनुभएको छ ।
प्रकाशित मिति: १३ जेठ २०७७, मंगलवार १४:०६ बजे











