कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा,सीडीओ भन्छन्– पौडेलले निषेधाज्ञा तोड्नुभयो, अनि पक्रियौं
पक्राउ पर्नुअघि पौडेलले भनेका थिए : यो सीडीओ कुन हो ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
पुलको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी कांग्रेसबीच विवाद भएपछि झडपको सम्भावना देखिएको भन्दै बुधबार स्थानीय प्रशासनले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
तर नेता पौडेल जुलुससहित पुल उद्घाटनका लागि पुगेपछि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जुलसको नेतृत्व गर्नुअघि कार्यकर्तालाई सम्बोधन गरेका पौडेलले उत्तेजक अभिव्यक्ति दिएका थिए ।
उपभोक्ता समितिले सर्वसम्मतिले निर्णय गरेर आफूलाई पुलको उद्घाटन गर्न बोलाएको र, त्यसअनुसार आफू आएको उनले बताए । ‘यो पुल बनाउँदा हाम्रै रगत पसिना गएको छ । हामीले आफ्नो मेहनतले बनाएका पुलहरु हुन्’ उनले भने, ‘अहिले कम्युनिस्टको सरकार आएर हामीले बनाएको पुलको उद्घाटन गरेर हामीलाई नै गाली गर्ने मञ्च बनाउन खोज्दैछन् ।’
उनले अघि भने, ‘मैले उनीहरुलाई चुनौती दिएको छु, उ त्यहाँमाथि पुल बनाओस् उद्घाटन गरोस् ।’
पौडेलले पुल उद्घाटनको कार्यक्रम रोक्न निषेधाज्ञा जारी गरेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना गरे ।
‘केही मान्छेलाई मोटरसाइलकमा दौडाएर असहज परिस्थिति भयो भन्दै यो प्रशासनले पुल उद्घाटनमा निशेषज्ञा जारी गरेको भन्दै कांग्रेस नेता पौडेलले भने, ‘पुल उद्घाटन गर्दा कसरी शान्ति सुरक्षा भंग हुन्छ ? कुन जनतालाई नोक्सान हुन्छ ?’
संविधान उल्लंघन गर्ने अधिकार सीडीओलाई मात्र होइन, (प्रधानमन्त्री) केपी ओलीलाई पनि नभएको भन्दै उनले निषेधाज्ञा खारेज गरेको घोषणा गरे । नेता पौडेलले भने, ‘यो सीडीओ कुन हो ? त्यसलाई समातेर छाड्छौं ।’
निषेधाज्ञा फिर्ता गर । भ्रष्ट सरकार मुर्दावाद भन्नुस् भन्ने नारा लगाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले अघि भने, ‘प्रशासन हट, हामी पुल उद्घाटन गर्छौं ।
प्रकाशित मिति: १७ मंसिर २०७७, बुधवार १६:३७ बजे











