नेपाल नगरपालिका संघको बार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल नगरपालिका संघको २९औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । नेपालका २ सय ९३ वटै नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले आफ्नो २९औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्यो ।
सो कार्यक्रमको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गनुहुदै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई तह नभनेर सरकार भन्ने हो भने पनि राजनीतिक सहमतिमा सरकार शब्द राख्न सकिने बताउनुभएको थियो ।
जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले स्थानीय सरकारले जनतालाई सरल, सहज र प्रभावकारी रुपले सेवा प्रवाह गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले नाम भन्दा पनि काममा विशेष ध्यान दिन स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउदै स्थानीय सरकारका लागि आवश्यक ऐन कानून बनाउनका लागि संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले संविधान बमोजिम स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउदै स्थानीय सरकारहरुले कोभिडको महामारीको समयमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको थियो ।
कार्यक्रमका नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले स्थानीय सरकारलाई बलियो र साधन स्रोत सम्पन्न बनाउनुपर्ने पनि बताउनुभएको थियो ।
कार्यक्रममा संघका कार्यकारी निर्देशक देवकोटाले संघीय नेपालमा नेपाल नगरपालिका संघको भूमिकाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
नेपालका लागि युरोपियन युनियनका डेलिगेट्स, युनेपालका लागि स्वीजरल्याण्डका राजदूत र United Cities and Local Government Asia Pacific का महासचिव डा.बर्नाडीया चन्द्रादेवीले स्थानीय सरकारलाई बलियो भएमा स्थानीयस्तरमा सेवा प्रवाह गर्न सहज हुने बताउदै राज्यका हरेक निकायमा महिला सहभागिता बढाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न ५ वटा बिधामा उत्कृष्ट कार्य गर्ने नगरपालिकाहरुलाई सम्मान पनि गरिएको थियो ।
संस्थागत विकास, सेवा प्रवाह र बित्तिय सुशासनतर्फ वालिङ नगरपालिका र पुतलिबजार नगरपालिका, शहरी योजना, पूर्वाधार विकास र बित्तिय सुशासनमा निलकण्ठ नगरपालिका, वन, वातावरण र जलबायु परिवर्तनमा इलाम नगरपालिका, स्थानीय आर्थिक विकासमा हरिवन नगरपालिका तथा सामाजिक विकासको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले संघको भक्तपुरको ठिमीमा बन्न लागेको भवनको रिमोर्ट थिचेर उद्घाटन पनि गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघ तथा धनगढी उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका र बिरेन्द्रनगर नगरपालिकाबीच दिशाजन्य लेदो व्यवस्थापनका लागि सम्झौता पनि भएको थियो ।
त्यसैगरी विपद् व्यवस्थापनका सम्बन्धमा नेपाल नगरपालिका संघ र जनकपुरधाम उपमहानगरपालिका, मेलम्ची नगरपालिका, बराहक्षेत्र नगरपालिका, ढोरपाटन नगरपालिका, सैनामैना नगरपालिका, चौरझारी नगरपालिका र महाकाली नगरपालिकाबीच पनि सम्झौता भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल नगरपालिका संघले प्रकाशित गरेको नेपालमा संघीयताको अभ्यास ः समीक्षा र मागचित्र नामक पुस्तक र नेपालमा कोभिड १९ रोकथामका लागि नगरपालिकाहरुको प्रयास तथा सफल अध्यासहरुको संग्रहको बिमोचन पनि गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले प्रधानमन्त्री शेर बहादुर देउवालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, पूर्व मूख्यसचिव डा.सोमलाल सुवेदी, स्थानीय शासन विज्ञहरु डा.हेमराज लामिछाने र परशुराम उपाध्याय लगायत नेपालका विभिन्न नगरपालिकाका मेयर र उपमेयरहरु लगायत स्थानीय सरकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





प्रकाशित मिति: ३० फागुन २०७८, सोमवार ००:१६ बजे











