१२ वैशाख २०८३, शुक्रवार

एकैदिन कोरोना संक्रमणको ७६ ओटा नमुना जनस्वास्थ्य प्रयोगशालामा परीक्षण

काठमाण्डौ – टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकैदिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउँदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको र सोमबार मात्रै ७६ वटाको नमु परीक्षण भएको बताउनुभएको हो ।

सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण सुरु भइसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण गरेको छ ।
सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भइरहेको छ । धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाइएको छ ।

मन्त्रालयले बुटवलमा दुबईबाट आएका ३४ वर्षीय पुरुषको कोरोना भाइरसका कारण ज्यान नगएको पुष्टि गरेको छ । ती व्यक्तिको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

पाटन अस्पतालमा ज्यान गुमाएका ३६ वर्षीया पुरुष र वीर अस्पतालमा ज्यान गुमाएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

अहिलेसम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको हालसम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयको स्रोतबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म प्रदेशहरुमा ९३ जना आइसोलेसनमा रहेको र २ सय १७ वटा नमुना संकलन भएको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

उहाँले प्रत्येक प्रदेशमा १ हजार सेट पीपीई, १० हजार भन्दा बढी मास्क, २० हजार न्दा बढी ग्लब्स पठाईएको जानकारी दिनुभयो । उहाँले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुदै पठाइएको बताउनुभयो ।

त्यसैगरी क्लोरिन र अन्य सामग्रीहरु पनि सबै प्रदेशलाई पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।

पालिकामा रहेका विदेशबाट आएका व्यक्तिहरुमध्ये अहिलेसम्म ४१ हजार १ सय ४० जनाको लिखित विवरण अद्यावधिक गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमवार १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु