१२ माघ २०८१, शनिवार

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा –२: पाँचबर्षमा गरेका काम नै जित्ने आधार

काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदातका लागि केही दिन मात्रै बाँकी हुँदा काभ्रेपलाञ्चोकको क्षेत्र नम्वर २ एमालेमय बनेको छ ।
एमालेका निर्वाचन केन्द्रित कार्यक्रममा भव्य जनसहभागिता भइरहेको छ भने काभ्रेपलाञ्चोकका सबै क्षेत्रमा दैनिक पार्टी प्रवेशको लहर चलेकोे छ ।
काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ को घरदैलोमा उम्मेदवार घर घर पुग्ने क्रममा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा एमालेको पक्षमा चुनावी उभार आएको छ ।
एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकुल बास्कोटा , प्रदेशसभा सदस्य उम्मेदवार २(१) मा कुमार खकुरेल र २(२) मा कुमार थापा हुनुहुन्छ । गोकुल बास्कोटा गत निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद र मन्त्री हुनुहुन्थ्यो । उहाँले संसदमा र सरकारमा विगत पाँच वर्षमा यहाँको जनप्रतिनिधि भएर सशक्तरुपमा आवाज उठाउनुभएको , नीति निर्माणमा देखाउनुभएको सक्रियता र विकास निर्माणका काम यहाँका नागरिकले नजिकबाट नियालेका छन् । नागरिकमाझ विकासप्रेमी नेताका रुपमा स्थापित बास्कोटा यस क्षेत्रका मतदातामा लोकप्रिय हुनुहुन्छ ।
उम्मेदवारहरुले आ–आफ्नो घोषणापत्रमा र नागरिकको घर–घरमा पुगेर आफू विजयी हुँदा पूर्वाधार निर्माणमा ध्यान दिने र सामाजिक सुधार गर्ने र सांस्कृतिक संरक्षण गर्ने बताएका छन् ।
‘समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरुप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरुलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरिने छ । काभ्रेपलाञ्चोक जिल्लामा आगामी ५ वर्ष भित्र १ हजार किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने,मण्डन लगायतका क्षेत्रहरुको सडक र पुर्वाधारको विकास गर्ने,त्यस्तै एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायीक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भूम्लुलाई पर्यटन र कृषी केन्द्र बनाउने ।
प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन तर्फ पलाञ्चोक भगवती मन्दिरलाई अझै ब्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आकर्षणको रुपमा विकास गर्ने, लगायतका पूर्वाधारहरुका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने प्रस्ताव एमालेले गरेको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बास्कोटाले आफूले पाँच वर्ष काभ्रेपलाञ्चोक जिल्लाको विकासमा योगदान रहेको बताउनुभयो उहाँले काभ्रेपलाञ्चोक जिल्लामा २ वटा विश्वविद्यालयमा निर्णय गराउन लागेको बताउनुभयो । यो पाँच वर्षमा आफूले संसदमा जनताका सरोकारका विषय, जनजीविकाका विषय, क्षेत्रीय सम्बन्ध, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका विषय उठाउनुका साथै काभ्रेपलाञ्चोक जिल्लाका जनताका आवाज बोलेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मैले विगत पाँच वर्षमा गरेको काम नै मैले जित्ने आधार हो ।’

प्रकाशित मिति: ३० कात्तिक २०७९, बुधवार ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु