सबै उडान थप १५ दिन बन्द गर्ने उच्चस्तरीय समितिको निर्णय
काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले यही वैशाख १८ गतेसम्म बन्द रहेको हवाई उडानलाई जेठ २ गतेसम्म बढाउने निर्णय गरेको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।
गत चैत्र ११ गतेदेखि मुलुकमा जारी लकडाउनको स्थितिलाई अझै समीक्षा गर्दै छिमेकी मुलुक र अन्तरराष्ट्रिय परिवेशलाई बिचार गरेर लकडाउनका विषयमा सरकारले थप निर्णय गर्ने सचिव विडारीले बताउनुभयो ।
सबैको सहयोगमा लकडाउनको अहिलेसम्मको स्थिति सफल रहेको, लकडाउनका कारण संक्रमणलाई नियन्त्रणमा लिन सकिएको र औषधि लगायत आवश्यक सामग्रीको अभाव नरहकोलगायतका विषयमा बैठकमा छलफल भएको सचिव विडारीले जनाकारी दिनुभयो ।
प्रकाशित मिति: १३ वैशाख २०७७, शनिवार १५:५२ बजे











