नगरपालिका संघद्वारा अन्तराष्ट्रिय साझेदारहरुसँग खोप सहयोगका लागि पत्राचार
काठमाडौं । नेपाल नगरपालिका संघले अन्तराष्ट्रिय नगरपालिका तथा साझेदार संस्थालाई खोप सहयोगका लागि पत्र पठाएको छ। संघका अध्यक्ष अशोक ब्याञ्जुले पत्र लेखेर विभिन्न देशका विभिन्न नगरपालिकासँग खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अनुरोध गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले खोपका लागि अन्तराष्ट्रिय सहयोगका लागि अनुरोध गरिरहेका बेला नगरपालिका संघले पनि आफ्ना अन्तराष्ट्रिय साझेदारहरुसँग नेपालका लागि खोप र स्वास्थ्य सामग्री सहयोगका लागि पत्राचार गरेको अध्यक्ष ब्याञ्जुले बताउनुभयो।
उहाँले भन्नुभयो , ‘हामीले जसरी पनि नगरवासीलाई खोप दिनु पर्छ। हरेक नगरपालिकामा बस्ने नागरिकको स्वास्थ्यको जिम्मेवारी नगर सरकारको हुन्छ। त्यसैले यो पहल गरेका हौं।’
उहाँका अनुसार बेलायत, क्यानडा, नेदरल्याण्ड, जर्मनीका नगरपालिका संघहरु, इयू, यूएसए, स्वीसलगायत राजदूतावाससँग खोपका लागि पहल गरिएको छ।



प्रकाशित मिति: २३ जेठ २०७८, आइतवार ०८:०९ बजे











