१८ असोज २०८१, शुक्रवार

रोशी गापाका इन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाका इन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काभ्रेको रोशी गापामा रहेको हिमाल माविको भवन मर्मतका लागि आएको रकम झुठा विवरण बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो।
हिमालय मावि रोशी–६, काभ्रेपलाञ्चोकमा जिल्ला शिक्षा कार्यालयबाट बिल्डिङ मर्मतका लागि प्राप्त रकम काम नगरी झुठा विवरण पेश गरी झुक्याई मूल्याङन गराई रकम निकासा गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतान, हिमालय माविका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामासमेतले निर्माणस्थलमा भएको कार्यको यकीन र वास्तविक नापजाँच नगरी नभए नगरेको काममा ७ लाख ८४ हजार ४ सय ४६.३४ रुपैयाँ खर्च देखाएएको छ।

उक्त बराबरको कार्यसमेत नापी किताबमा उल्लेख गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी निर्माणस्थलमा हुँदै नभएको कार्यको उक्त रकमसमेत भुक्तानी लिई निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतानले सरकारी रकमको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिएकाले ७ लाख ८४ हजार ४ सय ४६ बिगो कायम गरी मुद्दा दायर भएको हो।
बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतान तीनै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी गरेको बिगो रकम निजहरुबाटै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गरी हुँदै नभएको काम भएको भनी गलत नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी प्रमाणित गर्ने यी तीनै जना आरोपितहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम समेत सजाय हुन मागदाबी गरी बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अपडेट खबरबाट

प्रकाशित मिति: २ कात्तिक २०७७, आइतवार १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु