पत्रपत्रिकामा आज
अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने,नेपाल–भारत सीमा विवाद कालापानीवरै पनि मन्दिर बनाउन दिएन भारतले
काठमाडौँ । आज कार्तिक २२ गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग परेपछि सुरु भएको विवादको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, मंसिर १४ मा हुने उपनिर्वाचनमा बिहीबार भएको उम्मेदवारीको समाचारलाई पनि प्राथमिकता दिएका छन् ।
भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले महाकाली नदिवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय व्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ । प्रवेश निषेध पछि उनीहरूले त्यहाँभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । तर त्यसको निर्माणमा पनि भारतीय पक्षले अवरोध गरेको कान्तिपुर समाचारमा लेखिएको छ ।
अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने
कैदीलाई कारागारमै प्रजनन सुख दिन लागिएकोलाई कान्तिपुरले एंकर बनाएको छ ।
समाचार अनुसार, अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनु नपर्ने भएको छ । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौनसम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा दिने व्यवस्थासहितको विधेयक तयार भएको छ ।
उपनिर्वाचनमा सेना खटाइने
अन्नपूर्णले १४ मंसिरमा हुने उपनिर्वाचनमा सेना परिचालन हुने लेखेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको र अब राष्ट्रपतिले स्वीकृति दिएपछि सेना परिचालन हुने अन्नपूर्ण समाचारमा उल्लेख छ ।
नक्सा विवाद, जहाज डिले गर्न एयरलाइन्सको प्रवृत्तिलगायत विषयलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।
३ नदीमा पानीजहाज सञ्चालनको तयारी
सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको कारोबारले लेखेको छ । पश्चिम गण्डकी मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोसी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानीजहाज सञ्चालनको तयारी सरकारले गरेको हो ।
समाचार अनुसार, यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको छ । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टिमरलगायत सञ्चालनमा छन् ।
प्रकाशित मिति: २२ कात्तिक २०७६, शुक्रवार ०३:२४ बजे