जुलुस गरेर मात्रै कालापानी फिर्ता हुँदैन: देउवा

हेटौंडा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताए । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको काङ्ग्रेसले समर्थन नगर्ने बताए । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो । उनले भने, “भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।”
प्रकाशित मिति: २६ कात्तिक २०७६, मंगलवार १७:४३ बजे