पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा.खतिवडा नियुक्त
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा.घनश्याम खतिवडा नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए ।
खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि कुरा गर्दै उनले चारवर्षे कार्यकालमा पशुपति क्षेत्रको समग्र विकासमा सरोकार भएका निकायबीच समन्वयात्मक तरिकाले काम गर्ने प्रतिबद्धता जनाए । नेपाल संस्कृत विश्वविद्यालयबाट ‘महाकवि अश्वघोष विरचित बुद्ध चरित महाकाव्यमा रस विधान’ विषयमा डा.खतिवडाले विद्यावारिधि गरेका छन् ।
यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि गत असोजमै सकिएको थियो । परिषद् बैठकमा नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको सञ्चालक सदस्य आशा पाण्डेले बताइन् । उनको नेतृत्वमा आज कोषका महिला कर्मचारीको सहभागितामा पशुपतिस्थित वनकाली क्षेत्रमा सफाइ पनि गरिएको थियो ।
पशुपति क्षेत्रलाई स्वच्छ, सफा र पवित्र राख्न कोषका तर्फबाट पहल गरिरहने सदस्य पाण्डेले बताए । भ्रमण वर्षका अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने नाका नाकामा सफाइ अभियानलाई तीव्रता दिइने जनाइएको छ ।
प्रकाशित मिति: ३ पुस २०७६, बिहीवार ०८:१९ बजे