रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

–नारायण ढुङ्गाना
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उनले आवश्यक छैनभन्दा पनि उनले ढिपी गरे । ‘कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन’, प्रवक्ता श्रेष्ठले थपे, ‘जबर्जस्ती शङ्का गर्नु जरुरी छैन ।
उनले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिए । केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन् । मङ्गलबार मात्रै कुनै पनि बिरामी अहिले परीक्षणमा नभएको जनाएको स्वास्थ्य मन्त्रालयले आज भने परीक्षणका लागि भनेर सम्पर्कमा आउने मान्छे धेरै भएको जनाएको छ । तर, अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने मन्त्रालयले आज पनि दोहो¥याएको छ । आज शङ्का लागेर परीक्षणका लागि एक जनालाई निगरानीमा राखिएको जनाइएको छ ।
प्रवक्ता श्रेष्ठले प्रष्ट्याउँदै भने, ‘सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको सङ्क्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो, अन्य रुघाखोकीका बिरामीलाई विभिन्न अस्पतालमा नियमित उपचार गर्दा हुन्छ ।
चीनको वहान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस त्यहाँबाट आएका एक नेपालीमा देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको छ । नेपाल र चिनियाँ सरकराको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको गृह मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक आगन्तुकको परीक्षण गर्ने थालिएको छ । अस्पताललाई उच्च सतर्कतामा रहन भनिएको छ भने विभिन्न क्षेत्रमा सहायता कक्ष स्थापना गरेर काम भइरहेको छ ।
नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । यो नयाँ भाइरस हो । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखापरेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको उवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो ।
नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गर्दा रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिलेसम्म चीनलगायत १४ देशमा चार हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ । चीनमा मात्रै चार हजार ५३७ जनामा देखिएको छ । पछिल्लो अभिलेखमा उक्त भाइरसबाट १०६ जनाको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण फैलिएको क्षेत्रमा रहेका नेपालीको समेत नियमित निगरानी भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन शुरु भएको र सङ्क्रमण फैलिएमा रोक्नका लागि आवश्यक पूर्वतयारीसमेत भइरहेको जानकारी दिए । नेपालमा अहिलेसम्म चार जनामा परीक्षण भएकामा चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएको छैन । मन्त्रालयले नियमितरुपमा पत्रकार सम्मेलन गर्दै हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ ।
प्रकाशित मिति: १५ माघ २०७६, बुधवार २१:२६ बजे