मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताएका छन् । काठमाडौँमा आज आयोजित कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने उल्लेख गरे ।
मोटरबोट जीवनको रमाइलोका लागि मात्र नभई पर्यटन विकासको आधारसमेत भएको प्रधानमन्त्रीको भनाइ थियो । मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग सीमापार बहुआयामिक विकासको सञ्जालमा जोडिन चाहन्छौैँ ।”
प्रधानमन्त्री ओलीले जोडिन लागेको रेल्वे लाइनले हाम्रो छिमेकीसँग जोड्ने मात्र नभई नेपालको यातायात र ढुवानीको व्यवस्थामा क्रान्ति ल्याउने विश्वास व्यक्त गरे ।
चाँडै नै भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने जानकारी दिँदै उहाँले यसबाट हवाई सञ्जालमा ‘गेम चेन्जर’ बन्ने बताए । सीमापार प्रशारण लाइनलाई नेपालले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ थियो ।
राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको उनले बताए।
भेरी डाइभर्सन परियोजनामा प्रविधियुक्त उच्चस्तरीय सुरुङमार्ग निर्माण हुनु मुलुकको सामथ्र्यको राम्रो परीक्षण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले विश्व परिवेशमा आफ्नो कुरा व्यक्त गर्ने मञ्चका रुपमा नेपालले चैतमा ‘सगरमाथा संवाद’ राखेको र पहिलो सगरमाथा संवादले समसामयिक मुद्दामा बहस गर्न पहल गर्ने बताए ।
उनले भने, “संवादले जलवायु परिवर्तनको असर न्यून गर्न विश्वभरका राजनीतिक नेतृत्व, नीतिनिर्माता, रणनीति निर्माणकर्ता, बौद्धिक वर्ग, सञ्चारकर्मी र अभियन्तालाई एकै थलोमा जम्मा गर्नेछ ।”
उनले विगतमा भएका विभिन्न देशको उच्चस्तरीय भ्रमणहरुले ती देशसँगको सम्बन्ध विस्तार गर्दै बहुपक्षीय क्षेत्रमा सहकार्यको वातावरण निर्माण गरेको दाबी गरे ।
“हाम्रो देश ज्ञान र आइडियाको धनी छ, प्राकृतिक र सांस्कृतिक स्रोतको पनि धनी छ, विकासका लागि सम्भावनाको प्रचुरता छ, सरकार देशको आवश्यकतानुसार ऊर्जामयी साझेदारीको अवधारणाअनुसार अघि बढिरहेको छ”, प्रधानमन्त्रीले भने ।
नेपाल भ्रमण वर्ष २०२० ले पर्यटन क्षेत्रलाई बढावा दिने र पर्यटकको सङ्ख्या बढाउने मात्र नभई पर्यटन क्षेत्रको दायरा फराकिलो पार्दै भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने उनले बर्ताए ।
ब्रेन गेन’ सेन्टरमार्फत विदेशमा रहेका गैरआवासीय नेपालीको ज्ञान र सीप नेपालको सामाजिक आर्थिक विकासमा प्रयोग गर्न परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेको भन्दै उनले सरकारले ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा परिवर्तन गर्न महत्वाकाङ्क्षी योजना अघि सारेको बताए ।
नेपालले अन्तर्राष्ट्रिय ऋण बहन गर्न सक्ने अवस्थामा नरहेकाले सहकार्यात्मक ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको धारणा थियो ।
प्रधानमन्त्री ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अघि सारेको उल्लेख गर्दै समृद्ध समाज भनेको सभ्य र सकारात्मक सोचमार्फत सद्भावपूर्ण र सहअस्तित्वको सुसंस्कृति समाज निर्माण गर्नु हो भने ।
“विगतमा हाम्रो ध्यान परिणाम र सेवा दिने विषयमा केन्द्रित रह्यो, आर्थिक नीति उत्प्रेरित गर्ने खालको बनाएका छौँ, विगत तीन वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर रह्यो, राष्ट्रिय आयको बढ्दो स्तरले पूँजी परिचालनको आधार खडा गरेको छ”, प्रधानमन्त्रीले थपे ।
भूकम्पपछिको निजी आवास, सम्पदा क्षेत्रको पुनःनिर्माण कार्य गहन तरिकाले अघि बढेको उनले बताए । भ्रष्टाचार नियन्त्रण गर्न आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले १७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेर राष्ट्रिय प्रतिबद्धताको मूल्यलाई बढाएको दाबी गरे ।
प्रकाशित मिति: २४ माघ २०७६, शुक्रवार २१:२१ बजे