नागढुङ्गा सडक स्तरोन्नतिको कार्यमा तीव्रता
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुङ्गामा सडक स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको छ । चेकपोष्टबाट पिपलामोडसम्मको झण्डै साढे दुई किलोमिटर सडकमा डिभिजन सडक कार्यालयले कालोपत्र थप्ने काम गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानममत्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलिया, डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीलगायतले सडक स्तरोन्नतिको कामको आज स्थलगत अवलोकन गरे ।
उनहरुले काम सन्तोषजनकरुपमा अघि बढिरहेको जानकारी दिनुभयो । आगामी चैतसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि आगामी सातासम्म सम्पन्न गर्न गरी निर्माण अघि बढिरहेको देख्न सकिन्छ ।
सवारीसाधनको चाप उच्च रहेको सो सडक खण्डमा निर्माणमा समन्वय गर्न ट्राफिक प्रहरी नियमित खटिएका छन् ।
सो अवसरमा मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका बाहिरका ठूला आयोजनासँगै उपत्यकाको सडक व्यवस्थित बनाउने काम शुरु भएको बताए ।
नागढुङ्गामा दुई÷तीन वर्षमा सुरुङ बने पनि हालका लागि उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहजरुपमा आवतजावत गर्न सकुन् भनी सडक स्तरोन्नतिको काम अघि बढेको उहाँले जानकारी दिए ।।
मन्त्री नेम्वाङ्ले भने, “विशिष्ठ व्यक्तिको भ्रमणमा वा ठूला कार्यक्रम हुँदा मात्रै होइन यो काम सडक विभागले नियमितरुपमा गर्नुपर्छ ।”
प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ थपलियाले सरकारले पहिलो चरणमा काठमाडौँ उपत्यकाको खाल्डाखुल्डी भर्न काम गरिरहेको बताए ।
काठमाडौँ उपत्यकाका खाल्डा हटाइसकेपछि उपत्यका बाहिरका सडकमा समेत काम हुने उनले जानकारी दिए ।
उपत्यकामा धेरै स्थानमा खाल्डाखुल्डी पुर्नका लागि गत मङ्सिरमा नै ठेक्का सम्झौता भइसकेको थियो । आगामी चैतमा अवधि सकिने भए पनि त्योभन्दा एक महिना पहिले नै सम्पन्न हुने देखिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यस सडकको विकल्प नभएकाले सवारी साधन आलोपालो रोकेर निर्माणको काम भइरहेको जानकारी दिए ।
एकातिरको सडक १०÷१२ मिनेटसम्म रोकेर अर्कातिर निर्माण हुने र फेरि त्यो दिशामा सवारी साधन चल्ने र अर्कातिर निर्माण हुने गरी काम अघि बढेको छ ।
कालोपत्रको काम सकेसम्म सवारी साधनको चाप कम हुने समयमा भइरहेको छ । उनले भने, “सहजीकरणका लागि ट्राफिक प्रहरीको यहाँको युनिट नियमितरुपमा यहाँ खटिएको छ ।”
डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताए ।
ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको छ ।
डिभिजनले चालू आवमा झण्डै ४१ किमी सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमीमा काम भइसकेको छ । उनले भने, “३१ किमी सडकमा पनि निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।”
सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमितरुपमा अघि बढिरहेको बताए ।
यस स्थानमा जारी काम आगामी १० दिनभित्रमा सम्पन्न भइसक्ने उनले जानकारी दिए ।
मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री नेम्वाङले काठमाडौँ उपत्यकामा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्र बनाउनुभएको छ । समयसमयमा निर्माण स्थलमा पुगेर अनुगमन समेत उनले गर्दै आएका छन् ।
उपत्यकामा काठमाडौँका ९५ ललितपुरको ३८ र भक्तपुरको १९ स्थानमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
प्रकाशित मिति: ३ फागुन २०७६, शनिवार २०:४३ बजे