प्रचण्ड माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा नेकपाको कार्यकर्ता नभएको खुलासा
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा सत्तारुढ दल नेकपाको कार्यकर्ता नभएको खुलासा भएको छ । नेकपा जुम्लाले आइतबार एक विज्ञिप्ति जारी गर्दै तिरुवासँग नेकपाको कुनै पारिवारिक साइनो नभएको प्रष्ट पारेको हो । नेकपा जुम्ला जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त अराजनैतिक, उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला, सिंजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा, कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको, उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउन चाहान्छु ।’ विज्ञप्तिमा तिरुवा जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीले पनि खोजी गरिरहेको व्यक्ति समेत रहेको जनाइएको छ ।
आइतबार तिरुवाले राष्ट्रियसभा गृहमा आयोजित भरतमोहन स्मृति सभामा सम्बोधन सकेर फर्किदै गरेका प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर जुत्ता प्रचण्डलाई नलागी अन्य कसैलाई लागेको थियो । तिरुवाका बावु मुन तिरुवा माओवादी लडाकु रहेको र जनयुद्धमा सहिद भएको भनिएको थियो । त्यस्तै रतनलाई नेकपा जुम्लाका कार्यकर्ता रहेको बताइएको थियो ।
प्रकाशित मिति: १८ फागुन २०७६, आइतवार २१:०२ बजे