कोरोनाको प्रकोप महामारीको रुप : विश्व स्वास्थ्य सङ्गठन
काठमाण्डाै । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ ।
बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलनमा सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न सकिने बताएका हुन् । महानिर्देशक गब्रराइससले अहिले विश्वमा देखिएको गम्भीर प्रकोपबाट आफूहरु चिन्तित भएको बताए ।
उनले महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भएकोले जहाँ पायो त्यही प्रयोग गर्न नहुने भन्दै कोरोनाको सङ्क्रमणले भने महामारीको रुप लिएको डब्ल्यूएचओले मूल्याङ्कन गरेको बताए । विश्वमा यस किसिमको महामारी पहिलोपटक देखिएको भन्दै उनले यो कोरोना भाइरसले नै सिर्जना गरेको जानकारी दिए ।
चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् ।
६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाले ज्यान गुमाएका छन् भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् । चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
यसैबीच इटलीमा खाद्यान्न भण्डार र औषधि पसल बाहेक सबै व्यवसाय बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण यात्रामा देशव्यापी प्रतिबन्ध लगाएको इटलीले थप प्रतिबन्धको घोषणा गर्दै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसायमा रोक लगाएको बीबीसीले जनाएको छ ।
यसलाई युरोपमा अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध भनिएको छ । घरमै सामान पुर्याउने सेवालाई भने अनुमति दिइएको छ । प्रधानमन्त्री जुसेफ कोन्टेले इटलीमा भाइरसको नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाले थप कडाइ गरिएको बताए ।
प्रकाशित मिति: २९ फागुन २०७६, बिहीवार ०७:३० बजे