एटीएमलगायत डिजिटल भुक्तानी निःशुल्क
अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डबाट पैसा निकाल्दा नि:शुल्क

काठमाडौँ — एटीएम कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा कुनै प्रकारको शुल्क नलाग्ने भएको छ । कोभिड–१९ को जोखिमबाट बच्न ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैंक तथा वित्तीय संस्थाले शुल्क मिनाहा गरेका हुन् ।
शाखाहरूमा भीडभाड कम गर्न र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यति बेला एटीएम कार्ड तथा मोबाइल र इन्टरनेटको माध्यम बैंकिङ कारोबार गर्न पनि उनीहरूले भनेका छन्। कागजी नोट (बैंक नोट) मा कोरोना संक्रमण हुने भएकाले त्यसको प्रयोग कम गर्न पनि बैंकहरूको आग्रह छ। ‘संक्रमण बढ्न सक्ने एक माध्यम बैंक नोट पनि हुन सक्ने देखिएकाले सम्भव भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डबाट पैसा निकाल्दा पनि शुल्क लाग्नेछैन। ‘ग्राहकले आफूलाई पायक स्थानकै एटीएमबाट पैसा निकाल्न सकुन् भन्ने उद्देश्यले कारोबार निःशुल्क बनाइएको हो,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने। यो सुविधा नेपालभित्रका एटीएममा मात्र हो। नेपाल बाहिर रहेर प्रयोग हुने यस्तो कारोबारमा भने शुल्क लाग्नेछ।
‘नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवामा कुनै शुल्क लाग्नेछैन,’ विज्ञप्तिमा भनिएको छ। इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिए वा अन्य कुनै प्राविधिक समस्या भए सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न पनि बैंक तथा वित्तीय संस्थाले आग्रह गरेका छन्।
पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले पनि ब्रोकर कार्यालयमा भीडभाड नगर्न, अनलाइनमार्फत सेयर कारोबार गर्न लगानीकर्तालाई आग्रह गरिसकेको छ। ekantipur बाट
प्रकाशित मिति: ७ चैत २०७६, शुक्रवार २१:०९ बजे