६ फागुन २०८१, मंगलवार

कोरोनाभाइरस: भारतमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि, बिहारमा ‘पहिलो मृत्यु’

कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ‘जनता कर्फ्यु’ लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ।

त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

जसअनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ।

आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।

कतारबाट पुगेकाको मृत्यु
नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ।

राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो।
उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।

अस्पतालमा उपचार गराइरहेका अर्का सङ्क्रमित व्यक्ति हालै स्कटल्यान्डबाट फर्किएका थिए।

आइतवारभन्दा अघि बिहारमा सङ्क्रमित व्यक्ति फेला परेका थिएनन्।

इटलीबाट ल्याइए भारतीय विद्यार्थी
इटलीको रोमबाट २६३ जना भारतीय विद्यार्थीलाई भारत पुर्‍याइएको छ।

एयर इन्डियाको एउटा विशेष विमानबाट उनीहरूलाई आइतवार बिहान स्थानीय समयअनुसार करिब सवा नौ बजे दिल्ली पुर्‍याइएको हो।

उनीहरू सबैलाई क्वारन्टीनमा राखिएको छ।
अहिलेसम्म विदेशमा रहेका १६ सयजना भारतीयलाई स्वदेश फर्काइएको छ।

इटली कोरोनाभाइरसबाट निकै प्रभावति हुन पुगेको देश हो। बिबिसी बाट

प्रकाशित मिति: ११ चैत २०७६, मंगलवार ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु