९ जेठ २०८२, बुधवार

एक लाख बढी बेडको क्वारेन्टाइन निर्माणको लक्ष्य

काठमाडौं ।सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माण लक्ष्यसहित कार्यलाई तीव्रता दिएको छ ।
सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापन कार्य अगाडि बढाएको छ । क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगरकोटका होटल व्यवसायीसँग बुधबार बिहान भेट गरी क्वारेन्टाइनका लागि होटल उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
मन्त्री भट्टराईले व्यवसायीसँगको भेटघाटमा विश्व र मानव समाज नै गम्भीर सङ्कटबाट गुज्रिरहेको वर्तमान अवस्थाबाट मुक्तिका लागि सबैको सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नागरिकको अनुशासन प्रमुख भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकको सचेतना र अनुशासन नै सरकारको नैतिक बल हो । आफू सचेत र सुरक्षित बनौँ । आफ्नो परिवार, समाज, देश र विश्वलाई सुरक्षित राखौँ । लकडाउनको नियम र अनुशासन मानौँ ।”
नगरकोटका होटलहरूमा करिब दुई हजार बेडको क्वारेन्टाइन बनाउन सकिने अवस्था छ । मन्त्री भट्टराईको सचिवालयका अनुसार पहिलो चरणमा पाँच सय कोठालाई क्वारेन्टाइनका रूपमा तयार पार्न सकिने सम्भावनाबारे बुधबार छलफल भएको छ । त्यसको तयारीका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निक(ायका प्रतिनिधि सहभागी रहेको समिति बनाइएको जनाएको छ ।
यसैगरी मन्त्री भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज र पशुपति क्षेत्रको समेत निरीक्षण गरी क्वारेन्टाइनको तयारी विषयमा सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । दुवाकोटमा ४५० बेडको क्वारेन्टाइन र पाँच बेड आइसोलेसनका लागि तयारी अवस्थामा राखिएको छ । पशुपति धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जनाइएको छ ।
मन्त्री भट्टराईले प्रदेश, जिल्ला, स्थानीय निकाय गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारका एक लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री भट्टराईका अनुसार सङ्घीय सरकारले पाँच हजार क्वारेन्टाइनको व्यवस्था राजधानीमा गर्नेछ । त्यस्तै प्रदेश सरकार, तराईका जिल्ला र महानगरपालिकालाई दुई–दुई हजार, उपमहानगरपालिका र पहाडी जिल्लालाई एक–एक हजार, हिमाली जिल्लालाई पाँच सय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरिसकेको छ । उच्चस्तरीय समितिको बैठकले मन्त्री भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीवार ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु