धुलिखेल अस्पतालमा ११ जनाको स्वाब परीक्षण
काभ्रे । आइतबारबाट शुरु भएको कोरोना संक्रमणको परीक्षणका लागि धुलिखेल अस्पतालमा ११ जनाको स्वाब लिइएको छ ।
विदेशबाट फर्किएका र केही शंकास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालका डा. निरञ्जन भुसालले जानकारी दिनुभयो । अस्पतालले थोरै सामग्रीका बाबजुद परीक्षण शुरु गरेको संस्थापक डा. राजेन्द्र कोजुले जानकारी दिनुभयो ।
अस्पतालमा परीक्षणका लागि आवश्यक व्यवस्थापनसहित आइसोलेसन वार्ड तयारी गरी बिरामीहरुको उपचार भइरहेको डा. कोजुले बताउनुभयो । ‘टेकु र धुलिखेल अस्पतालमा रियलटाइम पीसीआर परीक्षण हुनेछ’, डा.भुसालले भन्नुभयो– ‘परीक्षणको चार घण्टामा रिर्पाट सार्वजनिक गर्न सकिन्छ ।’ यो उच्चस्तरको जाँच हो ।
अस्पतालले सीमित साधन र स्रोतका बाबजुद पहिलो दिन ११ जनाको परीक्षणपछि बुधबार मात्रै परीक्षण गर्ने जानकारी गराएको छ । बिहान १२ बजे अगावै आइसकेका व्यक्तिहरुको मात्रै परीक्षण गरिने डा. भुसालले जानकारी दिनुभयो । यसअघि अस्पतालले ७ जना शंकास्पद व्यक्तिको स्वाब टेकु पठाएको थियो । सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको थियो ।
काभ्रेमा आपत्कालीन व्यवस्था कमिटी’ गठन
कोरोना भाइरसको संक्रमणको रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा आपत्कालीन व्यवस्था कमिटी गठन भएको छ ।
कमिटीले संक्रमणको आशंका गरिएका व्यक्तिहरुको उद्धार गरी सम्बन्धित स्थानमा पठाउन सहयोग गर्नेछ । कमिटीमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ । यसअघि गठित कमान्ड पोस्टका सदस्यहरु सुरक्षा निकायका प्रमुखहरु कमिटीमा सदस्य रहनुभएको छ ।
नेपाली सेना विष्णु दल गणका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्रका एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार रहेका छन् ।
प्रकाशित मिति: २४ चैत २०७६, सोमवार १६:२३ बजे