कोरोना परीक्षणकाे दायरा बढ्याे, २४ घण्टामा ८९७ नमुना जाँच, संक्रमण शुन्य

काठमाण्डौ । सरकारले सात दिन यता कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित नयाँ बिरामी नभेटिएको जनाएको छ । विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ । यस अघि नेपालमा अहिलेसम्म ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि थियो ।
सङ्क्रमितमध्ये आठ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना, बाग्लुङमा दुई र सेती प्रादेशिक अस्पतालमा चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई परास्त गर्न सबैको सहयोग आवश्यक रहेकाले लकडाउनको पालना गरी स्वास्थ्यमा केही समस्या देखिए स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार सरकारले देशैभर कोरोना परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण गरिएकाे छ । पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको छ ।
यस्तै अहिले देशभर आठ हजार ८२ जना क्वरेण्टीनमा छन् । काठमाण्डाैमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २९ चैत २०७६, शनिवार १९:४० बजे