२० असोज २०८१, आइतवार

सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने गरेका दुई जनामा कोरोना पुष्टि, सबैको कोरोना परीक्षण सुरु

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेभसाइट मार्फत जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएसँगै त्यहाँ बसोबास गर्नेको परीक्षण सुरु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अपार्टमेन्टमा बसोबास गर्नेमध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको -यापीड डायगोनिस्टिक (आरडीटी) पछि पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट आएको छ । बाँकी एक जनाको भने पोजेटिभ नआएको मन्त्रालयले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ ।

मन्त्रालयले अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण सुरु गरेको जनाउँदै उनीहरुसँग संलग्नहरुको ट्रेसिङ पनि सुरु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १६ पुगेको छ । यसमध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलवार १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु