२५ असोज २०८१, शुक्रवार

काभ्रेको सबै ‘क्वारेन्टाइन’ खाली

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीरकण तथा रोकथामका लागि यहाँका स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठ जनाबाहेक सबैलाई एकान्तबास (होम क्वारेन्टाइन)मा नै राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तबास मै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २८८ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन् । तीमध्ये धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमारियल अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको छ । घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) भइरहेको बताइएको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडीटी भएको छ ।

यसैबीच, परीक्षणका क्रममा मङ्गलबार दुई युवामा कोरोना भाइरस सङ्क्रमणको शङ्का देखिएकाले दुबै जनालाई धुलिखेल अस्पतालस्थित आइसोलेशन कक्षमा राखिएको डा झाले बताउनुभयो । उहाँले भन्नुभयो “आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरुको अवस्था थाहा हुनेछ ।” उहाँले शङ्का लाग्दैमा ‘कोरोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताउनुभयो ।

कारोना भाइरसको शङ्कामा आइसोलेशनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधवार २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु