१२ माघ २०८१, शनिवार

अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन

सहभागी भन्छन्, ‘मलाई स्वतन्त्रता देऊ, नभए कोभिड देऊ’

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि बन्द भएको अर्थतन्त्र खुला गर्न माग गर्दै अमेरिकामा व्यापक प्रदर्शन गरिएका छन् ।

कोलोराडो, एरिजोना, मोन्टाना र वासिङ्टनका सडकमा उत्रेका प्रदर्शनकारीले गभर्नरहरुलाई लकडाउन अन्त्य गरी नियमित काम सुचारु गर्न आग्रह गरेका हुन् ।

मानिसलाई आवतजावत गर्न रोकिएको तथा आर्थिक गतिविधि ठप्प पारिएको भन्दै प्रदर्शन गरिएको हो । तर स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरस (कोभिड–१९) थप फैलन नदिन मानिस घरभित्रै बस्नुपर्ने भन्दै लकडाउन कडा पार्नुको विकल्प नरहेको बताउने गरेका छन् ।

कोभिड–१९ बाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ७ लाख ६० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । ४० हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

वासिङ्टन राज्यको राजधानी ओलम्पियामा गभर्नरलाई अर्थतन्त्र बन्द हुने नियमहरु हटाउन माग गर्दै हजारौं मानिस प्रदर्शनमा सहभागी भएका हुन् । विरोधका सहभागीले सामाजिक दूरी कायम गर्ने नियम उल्लंघन गरेका थिए । विरोध प्रदर्शनका आयोजकले मास्क लगाउन गरेको आग्रहसमेत उनीहरुले अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

मोन्टानाको हेलेनामा भएको प्रदर्शनमा सयौं मानिस सहभागी भएको जनाइएको छ । प्रदर्शनमा सहभागी कतिपयले बोकेका प्लेकार्डमा ‘लकडाउन तत्काल अन्त्य गर’, ‘मलाई स्वतन्त्रता देऊ, नभए कोभिड देऊ’ लगायतका नारा लेखिएका थिए ।

त्यसैगरी, कोलोराडोको डेनभरमा करिब ३ सय प्रदर्शनकारीले नाराबाजी गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एरिजोनाको राजधानी फोनिक्समा करिब २ सय प्रदर्शनकारीले गोलो घेरामा कार चलाएर विरोध जनाएका थिए ।

यसअघि मिनेसोटा, मिसिगन, भर्जिनिया, ओहायो, नर्थ क्यारोलिना, केन्टुकी, विसकन्सिन, ओरिगन, मेरिल्यान्ड, टेक्सास, आइडाहोलगायत राज्यमा पनि लकडाउनको विरोधमा प्रदर्शन भएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन अन्त्यको माग गर्दै भएका प्रदर्शनलाई सांकेतिक रूपमा समर्थन गरेका जनाइएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा सधैंजसो ट्रम्पले लकडाउन चाँडै खुल्ने बताउँदै आएका छन् । यसअघि केही राज्यमा भएको प्रदर्शनलाई समर्थन गर्दै उनले ट्वीटमा लेखेका थिए– ‘लिबरेट मिनेसोटा, लिबरेट मिसिगन र लिबरेट भर्जिनिया ।’

तर रिपब्लिकनहरूको शासन रहेका राज्यमा भएको प्रदर्शनबारे भने उनले केही उल्लेख गरेका थिएनन् । यसअघि न्युयोर्क राज्यका मेयर बिल डे ब्लासियोले आफूले माग गरेअनुसार केन्द्र सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री नपठाएको बताएका थिए । उनी डेमोक्रयाटका हुन् ।

अमेरिकाले नयाँ संक्रमितको उत्कर्ष पार गरिसकेको ट्रम्पको दाबी छ । लकडाउन तीन चरणमा अन्त्य हुने र त्यसका लागि कपितय राज्यका गभर्नरलाई निर्देशन दिइसकेको उनी बताउँछन् ।

लकडाउनका कारण औषधि तथा मदिराजन्य पदार्थको दुरुपयोग हुने, मुटुरोगलगायत शारीरिक तथा मानसिक समस्यामा पनि तीव्र वृद्धि हुने उनको दाबी छ तर प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुन: सञ्चालन गर्ने समयबारे गभर्नरहरू र ट्रम्पबीच गम्भीर मतभेद छ ।

बीबीसीका अनुसार केही राज्यका गभर्नरले लकडाउन खुकुलो पार्ने तथा हटाउने योजनाबारे छलफल गरेका जनाएको छ । तर कपितय राज्यले भने लकडाउनलाई झन् कडा पारेका जनाइएको छ । क्यालिफोर्निया लकडाउन गरिएको पहिलो अमेरिकी राज्य हो । गभर्नर गाभिन न्युसमले मार्च १९ मा नै मानिस घरबाहिर निस्कन नपाउने घोषणा गरेका थिए । त्यसैलाई पछ्याउँदै वासिङ्टन र ओरिगनले मार्च २३ मा लकडाउन घोषणा गरेका थिए ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले मे १५ सम्म लकडाउन बढाइने बताएका छन् । ‘हामी सबैजना सामान्य जीवनमा फर्कन निकै प्रतिक्षारत छौं । तर यो दुष्ट पराजित भएकोमा हामी यकिन हुनैपर्छ,’ उनले भनेका छन् ।

उनले न्युयोर्कमा कोभिड–१९ को परीक्षण आक्रामक रूपमा एन्टिबडी परीक्षण गरिने बताएका छन् । उनका अनुसार राज्यमा भाइरसबाट कति मानिस संक्रमित छन् भन्ने केही दिनमै पहिचान गरिनेछ ।

कुमोका अनुसार उक्त परीक्षण अमेरिकी खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले स्वीकृत गरेको छ । उनले न्युयोर्कमा महामारीको प्रभाव घट्दै गएको देखिएको जनाए ।

वासिङ्टनका गर्भनर जे इन्स्लीले राष्ट्रपतिले प्रदर्शनलाई समर्थन गर्नु खतरनाक भएको बताएका छन् । ‘अमेरिकी राष्ट्रपति भएर कानुन उल्लंघन गर्नेलाई झन् उत्साह थप्ने, मैले मेरो जीवनकालमा यस्तो कहिल्यै भएको सम्झन्न,’ उनले भने ।

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलवार १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु