नेपालमा कोरोनाबाट निको हुनेको संख्या पाँच
धनगढी । कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय युवक उपचारबाट निको भएपछि घर फर्किनुभएको छ । नेपालको चौथो सङक्रमित युवक झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि मंगलबार घर फर्किनु भएको हो । उहाँले आफूले उपचारमा सहयोग गर्ने चिकित्सक र नर्सहरुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
‘म चिकित्सकको सल्लाह अनुसार सात दिन घरमा छुट्टै बस्ने छु,’ उहाँले भन्नुभयो, ‘फेरि स्वाब परीक्षण गर्ने छु ।’
चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुग्नु भएका युवकलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो । उहाँ चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौं पुग्नुभएको थियो ।
उहाँ चैत ८ गते बुद्ध एअरबाट नेपालगञ्ज आउनुभएको थियो । सोही दिन उहाँ त्यहाँबाट अटो रिक्सामा कोहलपुर र कोहलपुरबाट अत्तरियासम्म माइक्रो बसमा, र, त्यहाँबाट बसमा धनगढी पुग्नु भएको थियो ।
दुबईबाट आएपछि तीन दिन घर बसेर अस्पताल पुग्नु भएको थियो । उहाँपछि उहाँको ३४ वर्षीया भाउजूमा पनि कोरोना देखिएको थियो । उहाँकाे भाउजुमा भाइरस सरेपछि सरकारले नेपालमा भाइरस दाेश्राे चरणमा पुगेकाे जानकारी दिएकाे थियाे ।
सेती अस्पतालमै उपचार गरिरहेकी उहाँकी भाउजूको पनि स्वास्थ्य राम्रो हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलवार २१:२४ बजे