२४ घण्टामा पीसीआर र आरडीटीका १ हजार ७ सय नमुना नेगेटिभ:स्वास्थ्य मन्त्रालय
काठमाण्डौ । गएको २४ घण्टामा पीसीआर र आरडीटी विधिबाट परीक्षण भएका झन्डै १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो । अहिलेसम्म नेपालमा ५७ जना सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताउनुभयो ।
अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैगरी विरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिलेसम्म पीसीआर विधिबाट १२ हजार ११ नमुना परीक्षण भएका छन् । आरडीटी विधिबाट ४६ हजार ८ सय ६० वटा नमुना परीक्षण भएका छन् ।
प्रदेश नम्बर १ मा ४ हजार ९ सय ८५, प्रदेश नम्बर २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।
यसैगरी प्रदेश नम्बर गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो ।
अहिले देशभर नै २३ हजार हजार ३ सय ३६ जना क्वरेण्टीनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले गत वर्षको पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका विरामी भेटिएको बताउनुभयो ।
झापा, सर्लाही, धादिङ, काठमाण्डौ, ललितपुर, चितवन र गोरखामा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उहाँले बताउनुभयो । १ सय ८५ जनामध्ये धादिङ २ जना बालबालिकाको दादुराका कारण मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रकोप देखिएको धादिङमा यहि वैशाख १७ गतेबाट २३ सम्म खोप दिन सुरु गरिएको छ । प्रकोप देखिएको क्षेत्रमा रहेका ६ महिना दखि १५ वर्षम्मका २० हजारलाई खोप दिइने उहाँले बताउनुभयो ।
नियमित खोप सेवा सञ्चालन गर्दा भिडभाड नगरी निश्चित दुरी कायम गर्न, खोप सेवा लिदन आउने अभिभावक र बालबलिकाको कोभिडसँग सम्बन्धित स्क्रिनिङ र सोधखोज गर्न सरकारले स्वास्थ्य संस्थाहरु आग्रह गरेको छ ।
कुनै व्यक्तिमा कोरोना सङ्क्रमण शंकास्पद देखिए जाँचका लागि आवश्यक सल्लाह दिएर उपचारका लागि पठाउन र सेवा दिँदा सर्जिकल मास्क र ग्लोबको प्रयोग गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।
प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीवार १८:४२ बजे